एमाले मुख्यालयबाट ओलीको प्रश्नः सुन खाने तस्करहरुलाई डेमोक्रेसीको मतलब छ, एमालेलाई छैन ?

काठमाडौं, ४ भदौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार जस्तो भ्रष्ट सरकार दुनियाँमा कतै नभएको बताउनु भएको छ । नेकपा (एमाले) मुख्यालयमा आज छक्कबहादुर लामालाई केन्द्रीय सदस्यको सपथ खुवाएपछि सम्वोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो ।

‘यो सुन तस्करी वर्तना सरकारले नगराएको भए कस्ले गरायो ?,’ ओलीले प्रश्न गर्नुभयो, ‘साधारण जनताले एउटा सानो थैली लिएर जाँदा पनि जाँच हुन्छ । तपाईँको बुलाकी, ढुङग्री, मुन्द्री जाँच गर्छ । के त्यसमा किलोकिलो सुन हालेको हुन्छ ? अनि एउटा आइटममा क्वीटल सुन आउँदा सजिलै पास हुन्छ, के–हो त्यो ?’ यो सरकारका पालामै तीन हजार भन्दी बढी केजी सुन तस्करी भएको भन्दै त्यो कसरी संभव हुन्छ ? भनेर प्रश्न गर्नुभयो ।

‘त्यसका पछि को–छ ? यहाँ सत्ता संरक्षित अन्तराष्ट्रिय गिरोह छ,’ ओलीले भन्नुभयो, ‘ त्यहि भएर हामीले निष्पक्ष छानविन गर्न आयोग बनाऔँ भनेको हो । त्यहि कुरा पर्दाफास होला भनेर सरकार मानेको छैन ।’

ओलीले एमालेलाई डेमोक्रेसीको मतलब छैन भनेर हल्ला गरेको आरोप लगाउनुभयो । ‘के सुन खानेहरुलाई डेमोक्रेसीको मतलब छ ? तस्करहरुलाई डेमोक्रेसीको मतलब छ ? हामीलाई छैन ? यस्तो पनि हुन्छ,’ ओलीले भन्नुभयो, ‘तर, उनीहरु त्यस्तै कुरा गरिहेका छन् । हामी देशलाई समृद्धिको दिशा अघि बढाउन खोजिरहेका छौँ ।’

ओलीले अहिलेको सरकारलाई अनौठो सरकारको संज्ञा दिनुभयो । ‘एउटा बाटोबाट एउटा आइटम देखाएर ल्याएको मात्रै एक क्वीन्टल सुन हुने रहेछ । विमानस्थल त ल्याउनै नसकिने ठाउँ हो नि ? ब्रेक सु भनेर पनि ल्याएकै छ । सिक्रेट भनेको छ त्यसमा पनि ल्याएको छ,’ ओलीले भन्नुभयो, ‘जेमा पनि सुन ल्याएको छ । अनि अब सबैका फायल खोलिन्छ भनेर त्यहि सरकार हल्ला चलाउँछ ।’

उहाँले माओवादीलाई एउटा डफ्फाको संज्ञा दिनुभयो । ‘माओवादीको एउटा डफ्फा छ । त्यो डफ्फाको काम नै यस्तै खालका क्रियाकलाप गर्ने हो,’ उहाँले भन्नुभयो, ‘बदमासी काम गर्ने अनि हल्ला अर्कोतिर चलाइ दिने । नेपालीहरु भनेका सोझो जातका छन् । हल्लाका पछि कुद्छ । उनीहरुका मान्छेले प्रायोजित हल्ला चलाउँछन् ।’
अहिले नेकपा (एमाले)ले संसद चल्न दिएन भनेर हल्ला चलाउने काम समेत माओवादीले गरेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गर्नुभयो ।

‘हामीले त यो तस्करी रोक्नु पर्यो भनेको हो । विमानस्थलबाट त सियो पनि छिर्न सक्दैन । त्यस्तो ठाउँबाट क्वीन्टलका क्वीन्टल सुन कसरी छिरेर आउँछ ? १ सय केजी सुन समातियो भनेको तपाईँ हामी सबैले सन्यौँ नि,’ उहाँले भन्नुभयो, ‘अहिले त ६० केजीमा झरिसक्यो । २ सय डिग्री सेल्सियसमा पग्लिने सुन के त्यसै पग्लिएर सकियो त ? देश लुट्ने काम भैरहेको छ ।’

ओलीले तस्करीमा कुरा नमिलेपछि बेलाबखत बर्तमान सरकारले सुन समात्ने गरेको बताउनुभयो । ‘कहिलेकहिले केही नमिल्दा टक्रक्क समातिएको सुनको परिणाम त त्यत्रो छ भने कति सुन तस्करी भैरहेको होला ?,’ उहाँले भन्नुभयो, ‘हामीले यस्तो अवस्थामा तस्करी रोकौँ, भ्रष्टाचार रोकौँ छानविन समिति बनाऔं भन्दा सरकार छानविन समिति बनाउन तयार छैन ।’
उहाँले आफूले भनेको निर्देशन मान्ने पुलिस राखेर छानविन गर्ने षडयन्त्र सरकारले गरेको पनि आरोप लगाउनुभयो । ‘आफूले जे निर्देशन दियो त्यति–त्यहि मान्ने पुलिस राख्नुपर्ने, ती पुलिसले अलिकति मानेन् भने सरुवा गर्नुपर्ने, आफूले भनेको–भनेको पुलिस राख्नुपर्ने । यसरी कसरी छानविन हुन्छ ?,’ उहाँले प्रश्न गर्नुभयो, ‘एसपीको नेतृत्वमा छानविन समिति बनाएको छ । त्यसलाई त एसएसपीले यसो–यसो गर भनेर निर्देशन दिएपछि मानिहाल्छ नि ?’

उहाँले विमानस्थलमा मेशिनले सुन रोक्ने र मान्छेले छाड्ने गरेको तथ्य उल्लेख गर्नुभयो । ‘तलको कर्मचारीले हेर्नुपर्छ, खोल्नुपर्छ भन्छ । माथिको हाकिमले छाडिदे भन्छ । त्यसैगरेर त बाहिर आएको हो नि यत्रो सुन,’ उहाँले भन्नुभयो, ‘१ सय किलो भनिएको सुन पनि विदेशी शक्तिले दबाब दिएपछि समातिएको हो । यस्तो खालको स्थिति छ ।’
एमाले संसद चलाऔं, संसदमा राम्रो कामको छलफल होस् भन्ने पक्षमा रहेको भन्दै त्यो संभव नभएको बताउँनुभयो ।

‘संसद माओवादीको झुट, बेइमानी, फट्याईका कारण अवरुद्ध भैरहेको छ । संसद माओवादीको वगवास गर्ने थलो भएको छ,’ उहाँले भन्नुभयो, ‘नचाहिने कुरा गर्ने थलो बनाएका छन् । संसद भनेको जनताको कुरा सुन्ने ठाउँ हो । देशका समस्या के छन् ? देशको विकास कसरी गर्न सकिन्छ ? भनेर छलफल गर्ने थलो हो संसद । त्यहाँ भलाद्मी जनप्रतिनिधि होइन अर्कै प्रकारका जनप्रतिनिधि भेला भएको छन् जस्तो देखिन्छ । तिनको शैली र व्यवहारले संसदलाई नै प्रदुषित बनाएको छ ।’

संसदमा एमालेले कुरा उठाउँदा सत्ता पक्ष उठेर हल्ला गरेर कुरा राख्नै नदिएको पनि बताउनुभयो । ‘भ्रष्टाचारी, सुनतस्करीका बारेमा बोल्नै दिदैँन । साढे ९ केजी सुन गायव भएको बारेमा बोल्नै दिदैँन । क्वीन्टल सुन ६१ किलोमा कसिरी झर्यो त्यो भन्दै दिदैँन,’ ओलीले भन्नुभयो, ‘यस्तो संसद सायद दुनियाँ कतै छैन ।’

कानुनको राज होस्, संविधान सम्मत ढंगले देश चल्न सकोस भनेर लागिरहेको भन्दै पवित्र ढंगले देश चलोस्, राज्य पवित्रताको एउटा प्रतिमूर्ति बनोस्, कानुनको पालना राज्यले गरोस्, राज्यले देशभक्ति सिकाउन सकोस भन्ने बाहेक एमालेको कुनै धेय नभएको उहाँको भनाई थियो ।