भक्तपुरकाे सुधार गृहमा मृत भेटिएका कमलको शव पोस्टमार्टम गर्न परिवार भए सहमत
भक्तपुर, ११ भदाै । भक्तपुरको सुधार गृहमा मृत फेला परेका रामेछाप मन्थलीका कमल बस्नेतको शव पोस्टमार्टम गर्न उनका परिवार सहमत भएका छन्।
आठौं दिनको छलफलपछि कमलको शव परीक्षण गर्न उनका परिवारले सहमत भएकाे भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
गत आइतबार (भदौ ३ गते) सुधार गृहमा अचेत भेटिएका कमललाई लगत्तै अस्पतालले मृत घोषणा गरेको थियो।
सुधार गृहको लापरबाहीका कारण कमलको मृत्यु भएको भन्दै उनका परिवार र आफन्तको प्रदर्शनका कारण त्यस दिन दिनभर सुधार गृह तनावग्रस्त बनेको थियो।
कमलको खुट्टामा निलडाम देखिएकोले कमलको हत्या भएको आशंकामा उनका परिवारले निष्पक्ष छानबिन नभएसम्म शव परीक्षण गर्न नदिने अडानमा थिए।
त्यसपछि घटनाको छानबिन गर्न तीन सदस्यीय समिति बनेको थियो। समितिले प्रतिवेदन बुझाइसकेको छैन।
हिजो प्रमुख जिल्ला अधिकारी रिजाल, भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसी, सुरक्षा निकायका प्रमुखहरु, युसेप नेपालका निर्देशक केशव सुवाल र प्रतिनिधिहरु तथा मृतक परिवारसँग भएको छलफल सहमतिमा टुंगिएको हो।
छलफलमा शवपरीक्षण गर्ने, शव परीक्षणपछि मृतकको दाहसंस्कार गर्ने, छानबिन कमिटीबाट आएको रिपोर्टअनुसार अगाडि बढ्ने, मृतक परिवारका लागि राहत रकमका लागि नेपाल सरकारलाई लेखी पठाउने सहमति भएको छ।
सहमति जुटेपछि कमलको शव आजै त्रिवि शिक्षण अस्पतालमा पोस्टमर्टम गरिने भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।