इरानसँग सम्झौता नजिक पुगेको ट्रम्पको दाबी: हर्मुजमा जहाज निकाल्ने सैन्य योजना ‘प्रोजेक्ट फ्रिडम’ स्थगित
एजेन्सी, २३ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा अलपत्र परेका तेल ट्याङ्कर र व्यापारिक जहाजहरूलाई सैन्य सुरक्षा (एस्कर्टिङ) दिएर बाहिर निकाल्ने योजना ‘प्रोजेक्ट फ्रिडम’ तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका छन् ।
इरानसँग भइरहेको कूटनीतिक संवादमा ‘व्यापक प्रगति’ भएको र सम्भावित सम्झौताको वातावरण बनाउन सैन्य कदमलाई रोकिएको राष्ट्रपति ट्रम्पको भनाइ छ ।
राष्ट्रपति ट्रम्पका अनुसार इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढेको छ र सम्झौताले अन्तिम रूप लिन सक्ने सम्भावनाको परीक्षण गर्न यो निर्णय लिइएको हो । यद्यपि, यसबारे इरानको तर्फबाट आधिकारिक प्रतिक्रिया आइसकेको छैन । यसअघि इरानले हर्मुज क्षेत्रमा अमेरिकी युद्धपोत वा लडाकु विमान प्रवेश गरे भीषण आक्रमण गर्ने चेतावनी दिँदै आएको थियो ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले ‘प्रोजेक्ट फ्रिडम’ अन्तर्गत ठूलो स्तरको सैन्य परिचालन गर्ने तयारी गरेको थियो । जसमा: करिब १५ हजार अमेरिकी सैनिक खटिने ।
१०० भन्दा बढी हवाई जहाज, युद्धपोत र ड्रोनहरू परिचालन हुने ।
खाडी क्षेत्रमा फसेका सयौँ जहाजहरूलाई सुरक्षा घेराभित्र राखेर बाहिर निकाल्ने ।
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले सोमबारदेखि नै यो अभियान सुरु भइसकेको बताए पनि राष्ट्रपतिले वार्ताको मौका दिन यसलाई थाती राख्न निर्देशन दिइएको बताइएकाे छ ।
गत फेब्रुअरी २८ मा इजरायलसँग मिलेर सुरु गरिएको सैन्य अभियान ‘अपरेशन एपिक फ्युरी’ अब समाप्त भएको विदेशमन्त्री रुबिओले जानकारी दिए । अमेरिकी रक्षामन्त्री पीट हेगसेथले जलमार्ग सुरक्षित पारिएको र चार हप्तादेखिको युद्धविराम कायम रहेको दाबी छ ।
यसबीच संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानबाट पुनः मिसाइल र ड्रोन आक्रमण भएको दाबी गरेको छ, जसलाई इरानले अस्वीकार गर्दै आएको छ ।
अमेरिका र इरानबीचको तनाव कम गर्न पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानको सक्रियतामा वार्ता अगाडि बढिरहेको जानकारी दिएका छन् । अमेरिकाले इरानको आणविक कार्यक्रमलाई खतरा मान्दै आएको छ भने इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ ।