१९औं एसियाली खेलकुद : माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

काठमाडाैं, १४ असाेज । १९औं एसियाली खेलकुदअन्तर्गत माल्दिभ्सलाई पराजित गर्दै नेपाल पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको हाे ।

नेपालले अब क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशर अफगानिस्तानमध्ये एक टिमसँग खेल्नेछ । यी पाँच टिम सीधै क्वाटरफाइनल पुगेका हुन् भने नेपालसँगै तीन टिम पहिलो चरण पार गरेर क्वाटरफाइनल पुग्नेछन् ।

नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमै अलआउट भयो । माल्दिभ्सका लागि मुएवियाथ अब्दुल घानीले सर्वाधिक ३६ र सिउस फरिदले १० रन बनाए ।

माल्दिभ्सलाई नेपालका अभिनाश बोहराले सानदार बलिङ गर्दै ३.४ ओभरमा ११ रन मात्र खर्चेर ६ विकेट लिए । टी-२० अन्तर्राष्ट्रियमा एकै खेलमा ६ विकेट लिने अभिनाश पहिलो नेपाली बलरसमेत बनेका छन् । यसअघि नेपालका सन्दीप लामिछाने र करण केसीले एकै खेलमा समान ५ विकेट लिएका थिए ।

माल्दिभ्सविरुद्ध सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेल एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले २७ बल खेल्दै तीन छक्का र तीन चौका प्रहार गर्दै सर्वाधिक ५२ रन बनाए । पहिलो खेलमा मंगोलियाविरुद्ध सबैभन्दा छिटो शतक पूरा गर्ने रेकर्ड बनाएका कुशल मल्लले २० बलमा दुई छक्का र तीन चौका मद्दतमा नटआउट ४७ रनको योगदान गरे ।

यस्तै कुशल भुर्तेल र गुलशन झाले समान ३५/३५ रन बनाए भने विनोद भण्डारी १३ रनमा आउट भए ।