चिनियाँ फुटबलको सपना र वास्तविकता: अर्बौँको लगानी देखि ‘भिलेज लिग’ को नयाँ लहरसम्म

 

बेइजिङ (एजेन्सी), २० जेष्ठ ।  उत्तर अमेरिकामा विश्वकपको रौनक छाउँदै गर्दा विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन भने पुनः एकपटक दर्शकमा मात्र सीमित भएको छ। सन् २०५० सम्ममा फुटबलको विश्व शक्ति बन्ने महत्वाकांक्षी योजना बुनेको चीनका लागि पछिल्लो एक दशक ‘दुस्वप्न’ जस्तै बनेको छ। तर, व्यावसायिक फुटबलको असफलताका बीच चीनका गाउँ-गाउँमा सुरु भएका एमेच्योर (अव्यवसायिक) लिगहरूले भने चिनियाँ फुटबलमा नयाँ आशा जगाएका छन्।

महत्वाकांक्षी योजना र निराशाजनक नतिजा
चिनियाँ राष्ट्रपति सी जिनपिङले फुटबलका लागि तीनवटा ठूला सपना देखेका थिए: विश्वकपमा छनोट हुने, विश्वकप आयोजना गर्ने र अन्ततः विश्वकप जित्ने। यही लक्ष्य प्राप्त गर्न सन् २०१६ मा ‘चिनियाँ फुटबल संघ’ ले सन् २०२० सम्ममा ७० हजार फुटबल मैदान बनाउने र ३ करोड विद्यालय जाने बालबालिकालाई फुटबलमा जोड्ने वृहत् योजना अघि सारेको थियो।

तर, नतिजा ठ्याक्कै उल्टो देखियो। सन् २०१६ मा फिफा वरीयतामा ८२ औँ स्थानमा रहेको चीन अहिले ९४ औँ स्थानमा झरेको छ। विश्वकपमा टोलीको संख्या ३२ बाट ४८ पुर्‍याउँदा पनि चीन छनोट हुन असफल भयो। गत जुनमा इन्डोनेसियासँगको १–० को पराजयले चीनको सन् २०२६ को विश्वकप सपनामा ठूलो धक्का पुर्‍यायो। सन् २००२ मा पहिलो पटक विश्वकप खेलेको चीनका लागि त्यो नै अहिलेसम्मको अन्तिम सहभागिता बनेको छ।

घरजग्गा कारोबार र ‘क्लब संस्कृति’ को पतन
सन् २०१५ देखि २०१७ को बीचमा चिनियाँ सुपर लिग  ले ओस्कार, कार्लोस टेभेज र हल्कजस्ता विश्वप्रसिद्ध खेलाडी भित्र्याउन १.१२ अर्ब डलरभन्दा बढी खर्च गर्यो। तर, यो लगानी फुटबल विकासका लागि भन्दा पनि राजनीतिक स्वार्थ र ‘गुआन्सी’ (सम्बन्ध विस्तार) का लागि बढी थियो। क्लबका मालिकहरू प्रायः घरजग्गा व्यवसायीहरू थिए, जसले फुटबलमार्फत सरकारसँग जग्गा र बैंक ऋणका लागि राम्रो सम्बन्ध बनाउन खोजेका थिए।

कोभिड–१९ महामारी र चीनको घरजग्गा क्षेत्रमा आएको आर्थिक मन्दीसँगै यो मोडल तासको महलझैँ ढल्यो। सन् २०२१ यता ४० भन्दा बढी व्यावसायिक क्लबहरू बन्द भइसकेका छन्।

 

भ्रष्टाचारको जालो र कारबाही
चिनियाँ फुटबलको पतनको अर्को मुख्य कारण भ्रष्टाचार हो। पूर्व राष्ट्रिय प्रशिक्षक लि टिए र फुटबल संघका पूर्व उपप्रमुख डु झाओकाई अहिले भ्रष्टाचार र म्याच फिक्सिङको आरोपमा जेल सजाय काटिरहेका छन्। लि टिएले राष्ट्रिय टोलीको प्रशिक्षक बन्न ४ लाख ४० हजार डलर घुस खुवाएको र क्लबहरूलाई प्रिमियर लिगमा उकाल्न विपक्षी टोलीलाई पैसा दिएको स्वीकार गरेका थिए।

शिक्षाको दबाब र सांस्कृतिक चुनौती
विशेषज्ञहरूका अनुसार चीनमा १२ वर्षको उमेर पुगेपछि बालबालिकाहरूले फुटबल खेल्न छाड्ने एउटा ठूलो समस्या छ, जसलाई ‘द क्लिफ’ (भिर) भनिन्छ। विश्वविद्यालय प्रवेश परीक्षा (गाओकाओ) को कडा तयारीका कारण अभिभावकहरूले बालबालिकालाई खेलकुदभन्दा पढाइमा बढी केन्द्रित गर्छन्। बेलायत जस्ता देशमा फुटबल एक सामाजिक संस्कृतिको रूपमा विकास भएको छ, तर चीनमा यो सरकारद्वारा निर्देशित कार्यक्रम मात्र बन्यो।

‘सुचाओ’ र ‘भिलेज लिग’: नयाँ आशाको किरण
व्यावसायिक फुटबल धराशायी भइरहँदा चीनको जियाङ्सु प्रान्तमा सुरु भएको ‘सुचाओ’  जस्ता एमेच्योर लिगहरू भाइरल भइरहेका छन्। डेलिभरी चालक, शिक्षक र सफ्टवेयर इन्जिनियरहरू सहभागी हुने यो लिगका खेलहरू हेर्न ६२ हजारभन्दा बढी दर्शक रंगशाला पुग्ने गरेका छन्। गत सिजनमा मात्र यसको लाइभ स्ट्रिमलाई २.२ अर्ब पटक हेरिएको थियो।

यसैगरी, गाउँका किसानहरूले खेल्ने ‘भिलेज लिग’  ले पनि व्यापक लोकप्रियता पाएको छ। म्यानचेस्टर सिटीका पूर्व खेलाडी सन जिहाई अहिले युवा प्रतिभा पहिचान गर्न गाउँ-गाउँमा पुगिरहेका छन्। उनले १० हजारभन्दा बढी बालबालिकाको प्रतिभा परीक्षण गरी उत्कृष्टलाई तालिम दिने अभियान चलाएका छन्।

चीनको फुटबल सपना माथिबाट लादिएको लगानीले मात्र पूरा हुन सकेन। तर, अहिले भुईँतह (Grassroots) बाट देखिएको उत्साहले भने चिनियाँ फुटबलको जग बलियो बनाउन सक्ने संकेत गरेको छ। विशेषज्ञहरूका अनुसार, जबसम्म फुटबललाई व्यापार वा राजनीतिको माध्यम नबनाई खेल र संस्कृतिका रूपमा स्वीकार गरिँदैन, तबसम्म चीनको विश्वकप सपना टाढै रहनेछ।