पाँचथरमा आँखाको उपचार गर्न शिविरकै भर

पाँचथर, २२ मंसिर । पाँचथरकाे याङ्वरक गाउँपालिका–३ ओयामका मैतसिंह राई याङ्वरककै थर्पुमा आयोजना गरिएको आँखा शिविरमा शल्यक्रियाका लागि तम्तयार भएर बस्नुभएको छ ।

करिब ७६ वर्षीय मैतसिंहको देब्रे आँखामा मोतियाबिन्दुुको समस्या देखिएपछि शल्यक्रिया गर्नुपर्ने भयो । झण्डै १० वर्षदेखि आँखाको समस्या भोगिरहनुभएका मैतसिंहले गत वर्ष थर्पुमा स्थापित आँखा उपचार केन्द्रमा पहिलो पटक आँखा जाँच गराउनुभएको थियो । आँखामा समस्या देखिएको स्वास्थ्यकर्मीले बताएपछि उहाँ शिविर पर्खेर बसिरहनुभएको थियो । “भरसक दुवै आँखाको शल्यक्रिया गराऔँ भनेको, डाक्टरले एउटाको मात्रै गरे पुग्छ भन्नुभयो”, मैतसिंहले भन्नुभयो ।

सोही वडाका श्रीनन्द नुगो लिम्बू ७४ वर्षको हुनुभयो । उहाँका दुवै आँखामा बादल लागेजस्तो हुन्थ्यो । नजिकैको स्वास्थ्यचौकी र जिल्ला अस्पतालमा उपचार नहुने सुनेपछि उहाँ समस्या पालेरै बसिरहनुभएको थियो । मधुरो देखिने हुँदा विस्तारै हिँडडुल गर्नुपर्ने बाध्यतामा रहनुभएका उहाँ आँखाको उपचार गरेर सहज जीवनको अपेक्षामा हुनुहुन्छ । “गाउँबाट तीन जना साथीहरु आएका छौँ, चस्मा लगाउँदा होला कि भनेको ‘अप्रेसन’ नै गर्नुपर्छ भन्ने कुरा डाक्टरले गर्दै हुनुहुन्छ”, याङ्वरक गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा भेटिनुभएका नुगोले भन्नुभयो ।

शिविरमा आँखा परीक्षणका लागि आउनुभएका याङवरक–६ का रामकुमार भारती शिविरमार्फत घर दैलोमा सेवा पुर्याउने कार्यले सामान्य नागरिक बढी लाभग्राही हुने बताउनुहुन्छ । “टाढा पुगेर उपचार गर्नुपर्ने बाध्यता हट्थ्यो, स्वास्थ्य क्षेत्रका अन्य सेवालाई पनि यसरी नै विस्तार गर्न स्थानीय सरकार लाग्नुपर्छ”, भारतीले भन्नुभयो, “आँखाको उपचारका लागि झापासम्म पुग्नुपर्ने बाध्यताले झापा पुगेर उपचार गराउनसक्ने अवस्था छैन ।”

उपचार र परीक्षणका लागि गाउँपालिकाले आयोजना गरेको आँखा शिविरमा आउनुभएका मैतसिंह, श्रीनन्द र रामकुमारजस्तै पूर्वी पहाडका नागरिकले आँखाको उपचार तथा परीक्षणका लागि कि त शिविर नै पर्खनुपर्छ, कि झापा पुग्नुपर्छ । पूर्वी पहाडका आँखाको उपचार गर्ने अस्पताल र जनशक्ति अभावका कारण नागरिक आँखा शिविरको भरपुर सदुपयोगमा लागेका देखिन्छन् ।

तथ्याङ्कले पनि यहाँका नागरिक शिविरमार्फत सेवा लिन इच्छुक रहेको देखाउँछ । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङसँगको सहकार्यमा यही मङ्सिर १४ र १५ गते याङवरक गाउँपालिकाले आयोजना गरेको शिविरमा तीन सय ९७ जनाले सेवा लिएका छन् । त्यसमध्ये ३२ जनाको मोतियाबिन्दको शल्यक्रिया, दुई सय २८ जनाको आँखा परीक्षण र चस्मा वितरण तथा बाँकीको आँखा परीक्षण गरिएको गाउँपालिकाका प्रवक्ता कुमारध्वोज सुनुवारले जानकारी दिनुभयो ।