भक्तपुरमा आफ्नै श्रीमान्द्वारा श्रीमतीको कुटपिट गरी हत्या
काठमाडौं, २५ फागुन । भक्तपुरको चाँगुनारायणमा आफ्नै श्रीमान्ले श्रीमतीकाे हत्या गरेकाे छ ।
चाँगुनारायण नगरपालिका वडा नम्बर ३ झौखेल पिपलबोट नजिकै श्रीमान्ले श्रीमतीको हत्या गरेका हुन् ।
फागुन २४ गते झौखेलमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ८ घर भएका २५ वर्षीय सन्तोष भुजेलले कुटपिट गर्दा उनकी २१ वर्षीया श्रीमती पवित्रा राईको मृत्यु भएको हो ।
पवित्राको उपचारको क्रममा भक्तपुर अस्पतालमा फागुन २४ नै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार सन्तोषले मादक पदार्थ सेवन गरी श्रीमती पवित्रालाई कुटपिट गरेका थिए । पवित्राको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमै राखिएको छ । प्रहरीले सन्तोषलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।