जुटेन सहमति, कांग्रेसले संसद् अवरोध गर्ने

काठमाडौं, ३ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ।

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न दलहरुका बीचमा सहमति नजुटेपछि कांग्रेसले संसद बैठक अवरोधलाई निरन्तरता दिने भएकाे हाे ।

आज बिहान ११ बजे बस्ने बैठक स्थगित गरेर सहमति जुटाउन भन्दै दिउँसो ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो।

दलहरुका बीचमा सहमतिको प्रयास भएको भए पनि नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरोध गर्ने भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले प्रतिनिधि सभाको बैठकमा एक पटक बोल्न पाउनुपर्ने बताउनुभएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि सभामुख देवराज घिमिरेले सदनको गतिरोध हटाउन प्रयास गरे पनि सहमति बन्न सकेको छैन।