अब्राहम सम्झौतामा सहभागी हुन ट्रम्पको प्रस्ताव पाकिस्तानद्वारा अस्वीकार: भन्यो— ‘हाम्रो विचारधारासँग मेल खाँदैन’

एजेन्सी, १२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानसहितका मुस्लिम तथा अरब मुलुकहरूलाई इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्ने ‘अब्राहम सम्झौता’ मा सहभागी हुन आह्वान गर्नुभएको छ । तर, ट्रम्पको यो प्रस्तावलाई पाकिस्तानले तत्कालै अस्वीकार गर्दै यो आफ्नो ‘मौलिक विचारधारा’ विपरीत रहेको स्पष्ट पारेको छ ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले इस्लामावादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाझिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने बताउनुभएको छ । पाकिस्तानी सञ्चारमाध्यम ‘समा टिभी’ सँगको अन्तर्वार्तामा उहाँले भन्नुभयो, “जसको शब्दलाई एक दिन पनि विश्वास गर्न सकिँदैन, त्यस्तो पक्ष (इजरायल) सँग दीर्घकालीन सहकार्य र भरोसाको आधार निर्माण गर्न कठिन हुन्छ ।”

रक्षामन्त्री आसिफले पाकिस्तानको पासपोर्टमा ‘इजरायलबाहेक विश्वका सबै देशका लागि मान्य’ भनी उल्लेख गरिएको प्रसङ्ग जोड्दै इजरायललाई मान्यता नदिने राष्ट्रिय नीतिमा कुनै परिवर्तन नभएको सङ्केत गर्नुभयो । उहाँका अनुसार इजरायलसँगको सम्बन्ध सामान्यीकरणसम्बन्धी अवधारणा पाकिस्तानका लागि स्वीकार्य छैन ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत इरानसँगको सम्भावित शान्ति सम्झौतालाई मध्यपूर्वको व्यापक राजनीतिक पुनर्संरचनासँग जोड्नुभएको थियो । उहाँले इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी गर्दै साउदी अरेबिया, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन र बहराइनलाई सामूहिक रूपमा अब्राहम सम्झौतामा हस्ताक्षर गर्न आग्रह गर्नुभएको थियो ।

ट्रम्पले चेतावनी दिँदै भन्नुभएको छ, “यदि यो कूटनीतिक प्रयास सफल भएन भने यो क्षेत्र फेरि पहिलेभन्दा अझ शक्तिशाली र विनाशकारी युद्धतर्फ धकेलिने जोखिम छ ।” उहाँले अब्राहम सम्झौतामा सहभागी राष्ट्रहरूले ठूलो आर्थिक र सुरक्षा लाभ लिइरहेको उदाहरण दिँदै इरान पनि भविष्यमा यसको हिस्सा बन्न सक्ने सम्भावना औँल्याउनुभयो ।

ट्रम्पका अनुसार उहाँले यस विषयमा साउदी राजकुमार मोहम्मद बिन सलमान, युएईका राष्ट्रपति, कतारका अमिर र पाकिस्तानी सेना प्रमुख असीम मुनिरलगायतका शीर्ष नेताहरूसँग छलफल गरिसक्नुभएको छ । उहाँले यसलाई ‘इतिहासकै सबैभन्दा महत्त्वपूर्ण सम्झौता’ को रूपमा चित्रण गर्दै आफ्ना प्रतिनिधिहरूलाई प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसक्नुभएको छ ।

सन् २०२० मा ट्रम्पकै कार्यकालमा सुरु भएको अब्राहम सम्झौतामार्फत इजरायलले युएई, बहराइन, मोरक्को र सुडानसँग कूटनीतिक सम्बन्ध स्थापित गरेको थियो । यद्यपि, पाकिस्तानको पछिल्लो कडा प्रतिक्रियाले ट्रम्पको यस महत्त्वाकाङ्क्षी कूटनीतिक योजनालाई मुस्लिम विश्वमा विस्तार गर्न नयाँ चुनौती खडा गरिदिएको छ ।