पाठेघर खस्ने समस्या भएका १९ जनाको महिलाकाे निःशुल्क शल्यक्रिया
खोटाङ, १२ मङ्सिर । केपिलासगढी गाउँपालिकाका १९ जना पाठेघर (आङ) खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रिया गरिएको छ ।
गाउँपालिकाको पहल तथा समन्वयमा काभ्रेको बनेपास्थित शीर मेमोरियल अस्पताल पठाइएका पाठेघरसम्बन्धी रोगले समस्याग्रस्त ३२ जना महिलामध्ये १९ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो ।
पाठेघर खस्ने समस्याबाट लामो समयदेखि ग्रसितको निःशुल्क उपचार गराउने उद्देश्यले गाउँपालिकाका तर्फबाट अस्पताल पठाइएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिनुभयो । “पाठेघर खस्ने समस्या भएका महिलाको उपचारका लागि सामुदायिक सेवा प्रतिष्ठान नेपालले आर्थिक सहयोग गरेको छ । शीर मेमोरियल अस्पतालले प्राविधिक सहयोग निःशुल्क रुपमा गरेको छ”, उहाँले भन्नुभयो, “शल्यक्रिया गरिएकाहरुका लागि अस्पतालका विशेषज्ञ डाक्टरहरुसँगै गाउँपालिकाबाट पठाइएका चार जना स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी र हेरचाहमा उपचार भइरहेको छ । उनीहरुका लागि कुरुवाको व्यवस्था गरिएको छ ।”
यही मङ्सिर ७ गते बनेपास्थित अस्पताल पठाइएका ३२ जना महिलामध्ये सात जनामा पाठेघरसम्बन्धी दोस्रो चरणको समस्या मात्र देखिएकोे थियो । दोस्रो चरणको समस्यामा रहेका महिलाले शारीरिक व्यायाम र नियमित औषधि प्रयोग गर्दा सुधार हुने भएकाले शल्यक्रिया नगरिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको सुझाव रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका विभिन्न वडाबाट उपचारका लागि पठाइएका अन्य महिलामा मुटु, उच्च रक्तचाप, मधुमेहलगायत विभिन्न प्रकारका समस्या देखिएकाले पाठेघरको शल्यक्रिया गर्न नमिल्ने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिनुभएको छ ।
“शल्यक्रियाका लागि पठाइएका ३२ जना महिलामध्ये मङ्सिर ११ गते मङ्गलबारसम्ममा १९ जनाको शल्यक्रिया सफल भएको छ । सात जनामा दोस्रो चरणको मात्र समस्या देखिएकाले शारीरिक व्यायाम र नियमित औषधि प्रयोग गर्दा समस्या सुधार हुने स्वास्थ्यकर्मीले बताएका छन्”, उहाँले भन्नुभयो, “बाँकी छ जनामा विभिन्न प्रकारका रोगको समस्या देखिएका कारण उनीहरुलाई पुनःपठाउने गरी फर्काइएको छ ।
नागरिकको स्वास्थ्यवस्थाबारे गाउँपालिकाले तथ्याङ्क सङ्कलन गर्दा गाउँपालिकाभित्र बसोबास गर्ने ५६ जना महिलामा आङ खस्ने समस्या देखिएको थियो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले नियमित औषधि सेवन गर्नुपर्ने दीर्घ रोग भएका नागरिकका लागि निःशुल्क रुपमा औषधि उपलब्ध गराउँदै आएको छ ।