नेपाल प्रिमियर लिग

जनकपुर बोल्ट्ससंग काठमाण्डु गुर्खाज ५ विकेटले पराजित, बोल्ट्सकाे प्ले अफमा स्थान सुरक्षित

काठमाडौं, २७ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाण्डु गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगको प्ले अफमा स्थान सुरक्षित गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएकाे प्रिमियर लिग अन्तरगत्काे ६ खेलमध्ये पाँचवटामा जित हासिल गर्दै जनकपुरले प्लेअफमा स्थान बनाएको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौं १०१ रनमै अलआउट भएको थियो । जनकपुरका स्पिनर ललित राजवंशी र शेर मल्लले उत्कृष्ट बलिङ गरे ।

ललितले ४ ओभरमा केवल ८ रन खर्चेर ३ विकेट लिए भने शेरले पनि ३।३ ओभरमा ११ रन खर्चेर तीन विकेट हात पारे ।

१०२ रनको सामान्य लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । जनकपुरका लागि जेम्स निसमले १७ बलमा सर्वाधिक २७ रन बनाए । हर्ष ठाकरले २५ र लहिरु मिलान्था २३ रन बनाएर आउट भए ।

जनकपुरका नेपाली ब्याटरहरु चल्न सकेनन् । आसिफ सेखले ९ बलमा २ रन मात्रै जोड्न सके भने कप्तान अनिल साह पनि १० बलमा ११ रन बनाएर आउट भएका थिए । काठमाडौंका करण केसीले दुई विकेट लिए ।