रसुवाको धुन्चेमा अलपत्र यात्रुको स्थलमार्गबाट उद्धार सुरु, वैकल्पिक सडक सञ्जाल सञ्चालनमा

काठमाडौँ,  भदौ १३ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण धुन्चेमा अलपत्र परेका तीर्थयात्री, पर्यटक तथा सर्वसाधारणलाई स्थलमार्गबाट उद्धार गर्न सुरु गरिएको छ। बागमती प्रदेश सरकारको सक्रियता र मुख्यमन्त्री किरण थापा मगरको प्रत्यक्ष समन्वयमा अलपत्र व्यक्तिहरूलाई वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको हो ।

मुख्यमन्त्री थापाका अनुसार धुन्चेमा रोकिएका यात्रुहरूका लागि प्रदेश सरकारले खानपानको समुचित व्यवस्था गर्नुका साथै यातायातको समेत प्रबन्ध गरेको छ। उद्धार प्रक्रियाबारे जानकारी दिँदै मुख्यमन्त्री थापाले भन्नुभयो, “अलपत्र यात्रुहरूलाई धुन्चेमा खाना खुवाएर मोटरमार्फत महावीरसम्म पुर्‍याउने र त्यहाँबाट करिब एक घण्टाको पैदल यात्रापछि चौगटी पुर्‍याइनेछ। चौगटीबाट पुनः प्रदेश सरकारले व्यवस्था गरेको निःशुल्क बसमार्फत उहाँहरूलाई काठमाडौँ पठाउने कार्य भइरहेको छ।”

प्रदेश सरकारले धुन्चे र चौगटी दुवै स्थानमा सर्वसाधारणका लागि निःशुल्क खानाको व्यवस्था गरेको छ। यसका साथै, त्रिशूली पारिको क्षेत्रमा अवरुद्ध रहेको मध्यपहाडी लोकमार्ग मर्मत गरी यथाशीघ्र सञ्चालनमा ल्याउन पहल भइरहेको जानकारी दिइएको छ। उक्त सडक सुचारु भएपछि रसुवा लगायतका प्रभावित क्षेत्रका बासिन्दालाई काठमाडौँ आवागमनमा थप सहजता हुनेछ।

पुनः सडक सञ्जालसँग जोडियो रसुवा
यसैबीच, भोटेकोशीको बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँ-टोखा-छहरे-गड्खारपुल-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चे सडकखण्डमा साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन हुन थालेका छन् ।

वैकल्पिक सडक सञ्चालनमा आएसँगै रसुवा जिल्ला पुनः सडक सञ्जालसँग जोडिएको छ। सडक सम्पर्क पुनःस्थापित भएपछि बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन, उद्धार कार्यलाई तीव्रता दिन र अत्यावश्यक सेवा आपूर्ति गर्न सहज हुने अपेक्षा गरिएको छ ।