पाल्पामा डढेलो: चार सामुदायिक वनमा क्षति, आगो नियन्त्रण बाहिर
पाल्पा,२२ फागुन । पाल्पाको रिब्दीकोट गाउँपालिका-१ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।
मङ्गलबार दिउँसोदेखि सुरु भएको आगो अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण निभाउन कठिन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
डढेलोका कारण करिब एक सय ७० हेक्टर क्षेत्रफलमा फैलिएका चारवटा सामुदायिक वनमा क्षति पुगेको छ। डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा डढेलोले क्षति पुर्याएको हो।
आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासीहरू खटिएका छन्।