रास्वपा महाधिवेशन : सभापति बन्न ५१ हजार शुल्क र ५१ समर्थक अनिवार्य, यस्तो छ अन्य पदको दररेट
काठमाडौँ, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनका लागि उम्मेदवारी शुल्क र मापदण्ड सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले सभापतिदेखि केन्द्रीय सदस्यसम्मका पदमा उम्मेदवारी दिन चाहनेहरूका लागि शुल्क र समर्थकको सङ्ख्या तोकेको हो ।
निर्वाचन आयोगका अनुसार पार्टीको सर्वोच्च पद सभापतिका लागि उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । शुल्कसँगै सभापतिका आकाङ्क्षीले एक जना प्रस्तावक र ५१ जना समर्थकको हस्ताक्षर समेत अनिवार्य रूपमा बुझाउनुपर्ने प्रावधान राखिएको छ ।
सभापतिबाहेक अन्य पदाधिकारी पदका लागि ४१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ । पदाधिकारीमा उठ्न चाहनेले एक जना प्रस्तावक र २१ जना समर्थक जुटाउनुपर्नेछ ।
यसैगरी, केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन २१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । सदस्यका लागि पनि एक जना प्रस्तावक र २१ जना समर्थकको हस्ताक्षर आवश्यक पर्ने आयोगले जनाएको छ ।
रास्वपाको महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ । यस महाधिवेशनले पार्टीको नयाँ नेतृत्वका रूपमा १९ जना पदाधिकारी र १५८ जना केन्द्रीय सदस्य चयन गर्नेछ ।