‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ, ७ असार । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने मूल नाराका साथ आज (आइतबार) नेपालसहित विश्वभर १० औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । योगको महत्व र यसले मानव स्वास्थ्यमा पुर्‍याउने लाभबारे जनचेतना जगाउन हरेक वर्ष २१ जुनका दिन यो दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ देखि यो दिवस विश्वव्यापी रूपमा मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेको यस दिवसलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गर्नुभएको थियो । सङ्घले घोषणा गरेका दिवसहरूमध्ये १७७ देशले समर्थन गरेको यो अहिलेसम्मकै कीर्तिमानी दिवस हो ।

नेपालमा प्राचीनकालदेखि नै हिमालयको काखमा ऋषिमुनिहरूले योग र ध्यानलाई आत्मसात् गर्दै आएका थिए । पछिल्लो समय यसलाई शैक्षिक रूपमा समेत अगाडि बढाइएको छ । नेपाल संस्कृत विश्वविद्यालयमा ६ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन भइरहेको छ भने त्रिभुवन विश्वविद्यालयले पनि संस्कृत केन्द्रीय विभागअन्तर्गत योग विषयको अध्ययन–अध्यापन सुरु गरिसकेको छ ।

नेपालमा विसं २०३६ देखि सूर्य उत्तरायण सुरु हुने दिन (माघ १ गते) लाई आधार मानेर योग दिवस मनाउन थालिएको थियो । सरकारले विसं २०७२ साउन २८ गते मन्त्रीस्तरीय निर्णयबाट माघ १ गतेलाई ‘राष्ट्रिय योग दिवस’ घोषणा गरेको थियो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

योगलाई सर्वव्यापी बनाउन अभियान चलाउँदै आउनुभएका डा. हरिप्रसाद पोखरेलका अनुसार रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन योग अत्यन्तै प्रभावकारी छ । “प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति र आरोग्यता प्राप्त हुन्थ्यो । आधुनिक युगको भागदौडमा मानिसहरूले यसलाई बिर्सिए पनि अहिले युरोप र अमेरिकामा यसको प्रयोग बढेपछि नेपालीहरू पनि पुनः योगतर्फ आकर्षित हुन थालेका छन्,” उहाँले भन्नुभयो ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज बिहान ७ः०० बजे काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्राङ्गणमा विशेष कार्यक्रम आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा हुन लागेको यस कार्यक्रममा मुख्यसचिवसहित सरकारी उच्च अधिकारी, योग गुरु, प्रशिक्षक र अनुयायीहरूको बाक्लो उपस्थिति रहने जनाइएको छ ।