मध्यपूर्वमा तनाव: इरानद्वारा होर्मुज जलसन्धि बन्द, स्विट्जरल्याण्डमा वार्ताको तयारी

 

तेहरान/वासिङ्टन । लेबनानमा इजरायली सैन्य कारबाही तीव्र भएसँगै इरानले रणनीतिक रूपमा विश्वकै महत्वपूर्ण मानिने ‘होर्मुज जलसन्धि’ बन्द गरेको घोषणा गरेको छ। इरानको प्रभावशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले आइतबार उक्त जलक्षेत्र बन्द गरिएको जानकारी दिएको हो।

३२ जनाको मृत्यु र जलसन्धिमा अवरोध
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार लेबनानको दक्षिणी क्षेत्रमा आइतबार बिहानैदेखि भएका इजरायली आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। उक्त आक्रमण र अमेरिकाले युद्धविरामका प्रतिबद्धताहरू उल्लंघन गरेको आरोप लगाउँदै इरानले होर्मुज जलसन्धि भएर यात्रा गर्ने व्यापारिक तथा अन्य जहाजहरूलाई सो क्षेत्रमा नआउन चेतावनी दिएको छ। IRGC को जलसेनाले जहाजहरूको सुरक्षा जोखिममा रहेकाले जलसन्धि नजिक नआउन कडा निर्देशन दिएको छ।

कूटनीतिक प्रयास र जेडी भ्यान्सको भ्रमण
युद्धको बढ्दो जोखिमका बीच कूटनीतिक प्रयासहरू पनि सुरु भएका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले इरानसँगको वार्ताका लागि आफू केही दिनभित्रै स्विट्जरल्याण्ड जान लागेको पुष्टि गरेका छन्। पाकिस्तान र कतारले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै स्विट्जरल्याण्ड, इरान र इजिप्टमा विभिन्न चरणका बैठकहरू गरिरहेका छन्।

अल जजीराको रिपोर्ट अनुसार, केही समयको ढिलाइपछि ‘कूटनीतिको पाङ्ग्रा’ पुनः घुम्न थालेको छ। शुक्रबारदेखि सुरु हुने भनिएको प्राविधिक वार्ताहरू अब अगाडि बढ्ने संकेत देखिएको छ।

इरानको अडान
इरानका उप-विदेशमन्त्रीले तेहरान अमेरिकासँग कूटनीतिक संवादका लागि तयार रहेको बताएका छन्। तर, उनले अमेरिकाले इजरायललाई युद्ध अन्त्य गर्ने सम्झौताका शर्तहरू पालना गराउन सुनिश्चित गर्नुपर्ने शर्त राखेका छन्।

इरानी समाचार एजेन्सी ‘फार्स’ र ‘मेहर’ का अनुसार, इरानी प्रतिनिधिमण्डल वार्ताका लागि स्विट्जरल्याण्ड प्रस्थान गरिसकेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, “हामी स्विट्जरल्याण्डमा अर्को पक्ष (अमेरिका) लाई उनीहरूको प्रतिबद्धता पुरा गर्न दबाब दिनेछौं। यदि अमेरिकाले आफ्ना बाचाहरू कार्यान्वयन गर्न अस्वीकार गरे इरानले आवश्यक कदम चाल्नेछ।”

विश्वको कुल तेल आपूर्तिको ठूलो हिस्सा ओगट्ने होर्मुज जलसन्धि बन्द हुँदा विश्व बजारमा इन्धनको मूल्य र आपूर्ति शृङ्खलामा गम्भीर असर पर्ने विज्ञहरूले चेतावनी दिएका छन्।