वीरगञ्ज भन्सारबाट आठ महिनामा ५३ अर्बभन्दा बढीको निर्यात
वीरगञ्ज, १२ चैत । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ५३ अर्ब २६ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७२.०१ प्रतिशतले बढी हो।
भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार यस वर्ष भटमासको तेलको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। आठ महिनाको अवधिमा २८ अर्ब १९ करोड रुपैयाँ बराबरको १३ करोड ४७ लाख १० हजार १ सय ४२ लिटर भटमासको तेल निर्यात भएको छ।
यसका साथै, ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको जुस र ३ अर्ब ६८ करोड रुपैयाँ मूल्यका फलाम तथा फलामजन्य सामग्रीहरू पनि निर्यात भएकाे कार्यालयले जनाएकाे छ ।