गैँडा चोरीसिकार रोकिएको ५०० दिन नाघ्यो, संरक्षणमा निरन्तर सफलता
चितवन, २ वैशाख । चितवन राष्ट्रिय निकुञ्ज र यसको आसपासका क्षेत्रमा दुर्लभ एकसिङ्गे गैँडाको चोरीसिकार नभएको ५१६ दिन पुगेको छ । यो अवधिमा प्राकृतिक कारणहरूले गैँडा मरे पनि तस्करहरूबाट भने गैँडा मारिन पाएका छैनन् ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार, पछिल्लो पटक २०८० साल कात्तिक ३० गते निकुञ्जको चपरचुली क्षेत्रमा तस्करहरूले खाल्डोमा पारेर दुई गैँडा मारेका थिए । उक्त घटनाको केही दिनमै संलग्न ९ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको थियो । त्यसयता, निकुञ्ज प्रशासनले अपनाएको परिवर्तित सुरक्षा रणनीति र स्थानीय समुदायको बढ्दो सचेतनाका कारण चोरीसिकार शून्यमा झरेको थापामगरले बताउनुभयो ।
चालु आर्थिक वर्षमा हालसम्म २४ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । बाघ वा गोहीको आक्रमण, एकापसमा जुध्नु, बिरामी पर्नु, दलदलमा फस्नु, बुढ्यौली र भाले गैँडाले थिच्नु जस्ता कारणले गैँडाको मृत्यु भएको निकुञ्जले जनाएको छ ।
विगतमा लगातार १,०७१ दिनसम्म चोरीसिकार शून्य हुँदा उत्सव मनाइएको थियो । तर, पछिल्ला वर्षहरूमा शून्य चोरीसिकारलाई निरन्तरता दिने तर औपचारिक उत्सव नमनाउने नीति लिइएको छ ।
सन् २०२१ को गणना अनुसार नेपालमा कुल ७५२ गैँडा रहेका छन्, जसमध्ये सबैभन्दा बढी ६९४ वटा चितवन राष्ट्रिय निकुञ्जमा छन् । यस वर्ष गैँडा गणना गर्ने कार्यक्रम तय भए पनि बजेट अभावका कारण अन्तिम समयमा स्थगित भएको थियो । यद्यपि, गैँडाको नियमित अनुगमनलाई तीव्रता दिइएको निकुञ्जले जनाएको छ ।