महिलाको नाममा उद्योग दर्ता र नवीकरण निःशुल्क, उद्यमशीलता प्रवर्द्धनमा सरकारको जोड
काठमाडौँ, १५ जेठ । सरकारले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न महत्वपूर्ण कदम चाल्दै महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता गर्दा वा नवीकरण गर्दा लाग्ने शुल्क पूर्ण रूपमा छुट दिने घोषणा गरेको छ ।
आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त घोषणा गर्नुभएको हो ।
यो व्यवस्थाले महिलाहरूलाई व्यवसायमा लाग्न थप प्रेरित गर्ने र उनीहरूको आर्थिक सशक्तीकरणमा सघाउ पुग्ने विश्वास गरिएको छ ।
बजेट भाषणका क्रममा अर्थमन्त्री पौडेलले भन्नुभयो, “महिला लक्षित उद्यमशीलता प्रवर्द्धन गर्न रोजगारी तथा स्वरोजगारीका अवसरहरु वृद्धि गरिनेछ । महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरिनेछ ।”
यसका साथै, गृहिणी महिलाहरूको श्रम र सीपलाई साना तथा घरेलु उद्यमसँग जोड्न उनीहरूको क्षमता विकासका लागि विशेष कार्यक्रमहरू सञ्चालन गरिने पनि बजेटमा उल्लेख छ ।