बैंकहरूको खराब कर्जा व्यवस्थापनका लागि ‘एसेट म्यानेजमेन्ट कम्पनी’ स्थापना गरिने
काठमाडौँ, १५ जेठ । सरकारले बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा तथा गैर-बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न एक छुट्टै ‘एसेट म्यानेजमेन्ट कम्पनी’ स्थापना गर्ने महत्वपूर्ण घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त घोषणा गर्नुभएको हो ।
बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले भन्नुभयो, “बैंक तथा वित्तीय संस्थाको खराब कर्जा तथा गैर बैंकिङ सम्पत्ति व्यवस्थापनको लागि एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने भएको छ ।” यो कम्पनीले वित्तीय प्रणालीमा रहेको निष्कृय कर्जाको भारलाई कम गरी बैंकहरूको वित्तीय स्वास्थ्य सुधार्न र कर्जा प्रवाह क्षमता बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।