इजरायलद्वारा इरानमाथि भीषण आक्रमण, बदला लिने तेहरानले गरे वाचा
काठमाडौं, ३० जेठ । इजरायलले शुक्रबार इरानमाथि भीषण हवाई आक्रमण गरेको छ । आक्रमणमा इरानका सैन्य तथा आणविक पूर्वाधारलाई निशाना बनाइएको छ भने रिभोलुसनरी गार्डका प्रमुखसहित कैयौं उच्च सैन्य अधिकारी मारिएका छन् ।
आक्रमणपछि इरानले इजरायलले ‘कठोर परिणाम’ भोग्नुपर्ने भन्दै बदला लिने वाचा गरेको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इजरायलले यस आक्रमणको ‘कठोर र पीडादायी’ मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणमा एक वरिष्ठ गार्ड कमान्डरसहित कैयौं नागरिकको पनि मृत्यु भएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यो कारबाहीले ‘इरानको आणविक कार्यक्रमको मुटु’ मा प्रहार गरेको बताउनुभएको छ । उहाँले इरानविरुद्धको यो कारबाही आवश्यकएसम्म जारी रहने बताउँदै प्रारम्भिक आक्रमण ‘अत्यन्त सफल’ भएको दाबी गर्नुभयो ।
यसैबीच, संयुक्त राज्य अमेरिकाले आफू यस आक्रमणमा संलग्न नभएको स्पष्ट पारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणबारे आफूलाई पूर्व जानकारी रहेको बताउनुभए पनि तेहरानलाई अमेरिकी स्वार्थमाथि हमला नगर्न चेतावनी दिनुभएको छ । तर, इरानले भने यो आक्रमण ‘अमेरिकाको समन्वय र अनुमतिबिना हुन नसक्ने’ भन्दै परिणामको जिम्मेवार वासिङ्टन पनि हुने बताएको छ ।
आक्रमणलगत्तै इरानले आफ्नो मुख्य अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेको छ भने छिमेकी इराकले पनि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । इजरायलले पनि सम्भावित जवाफी हमलाको आशंकामा आपत्कालीन अवस्था घोषणा गर्दै आफ्नो हवाई क्षेत्र बन्द गरेको रक्षामन्त्री इजरायल काट्जले बताउनुभयो । आक्रमणको खबरसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ भने सेयर बजारमा गिरावट आएको छ ।
गत वर्ष अक्टोबर ७ मा इरान समर्थित हमासले गरेको आक्रमणपछि इजरायल र इरानबीच प्रत्यक्ष तनाव बढेको हो । इजरायल र पश्चिमा देशहरूले इरानले आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन्, जसलाई तेहरानले अस्वीकार गर्दै आएको छ ।