कारोबार रकम बढे पनि नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, ५ असार। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। यद्यपि, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

बिहीबार नेप्से २४.७६ अंकले घटेर २६२८ विन्दुमा बन्द भएको हो। कारोबार रकममा भने वृद्धि देखिएको छ। बुधबार ९ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ११ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। आज जम्मा ४७ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटाको भने घटेको छ।

बिहीबार कारोबारमा आएका सबै समूहगत सूचकहरू राताम्य भएका छन्। सबैभन्दा बढी व्यापार समूहको सूचक २.४७ प्रतिशतले घटेको छ। त्यसैगरी, हाइड्रोपावर १.३४ प्रतिशत, विकास बैंक १.१२ प्रतिशत, र माइक्रोफाइनान्स समूह १.०६ प्रतिशतले घटेका छन्।

बजार घटे पनि पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। मध्यभोटेकोशी जलविद्युत् कम्पनी ५.५५ प्रतिशत र शिवश्री हाइड्रो ४.०४ प्रतिशतले बढेका छन्।

यस दिन तीनवटा कम्पनीको मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जीको मूल्य १० प्रतिशतले घटेको हो। कारोबार रकमका आधारमा ङादी ग्रुप, बुटवल पावर कम्पनी, सिंगटी हाइड्रो इनर्जी, सानिमा माई हाइड्रोपावर र राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *