हुम्लाको हिल्सा नाकामा एलसी सहितको क्वारेन्टाइन निर्माण गर्छौः प्रधानमन्त्री ओली

हुम्ला, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक चीनसँग जोडिएको हिल्सा नाकामा एलसी सहितको क्वारेन्टाइन निर्माण गर्ने प्रतिवद्वता जनाउनुभएको छ । सिमकोटलाई रास्ट्रिय सडक सञ्चालनसँग जोड्न चुवाखोला बेलिब्रिज पुलको उद्घाटन गर्न खार्पुनाथको खार्पुदोभानमा आइपुग्नु भएका प्रधानमन्त्री ओलीले यहाँ व्यापार व्यवसायको ठूलो सम्भावना रहेको पनि उल्लेख गर्नुभयो ।

हुम्लाको आर्थिक अवस्था सुधारका लागि छिमेकी मुलुकसँग व्यापार व्यवसाय गर्नका लागि ठूलो क्वारेन्टाइन स्थापना तत्काल गर्ने उहाँको भनाई थियो । पुल उद्घाटनपछि क्वारेन्टाइन स्थापना हुने उहाँको भनाइ थियो । यस्तै राष्ट्रिय सडक सञ्चालनसँग जोडिन बाँकी एक मात्रै हुम्लाको सदरमुकाम सिमकोट जोडिएपछि खुसी व्यक्त गर्नुका साथै नेपाली सेनाको उहाँले प्रशंसा समेत गर्नुभयो ।

सिमकोट सडकसँग जोड्नका लागि आफुलाई नेकपा (एमाले) उपमहासचिव प्रदिप ज्ञावलीले हुम्लाका राजनीतिक दलहरुको संयुक्त ज्ञापनपत्र बुझाएको स्मरण पनि उहाँले गर्नुभयो । ‘ज्ञावली हुम्ला पुगेर हुम्लीको यो गुनासो आफू समक्ष ल्याउनुभयो,’ उहाँले भन्नुभयो, ‘नेपाली सेनाले पनि यो आयोजना सहजै स्वीकार गरि अहिले यो सफलता प्राप्त भएको छ ।’ उहाँले हुम्ला सडकसञ्जालसँग जोडिएपछि खुसी भएको बताउनुभयो ।
हुम्लाबाट दाने बोहराको सहयोगमा