जनकपुरमा १५ वर्षीया बालिकाको खुकुरी प्रहार गरी हत्या, आमा र भतिजी गम्भीर घाइते

धनुषा, १३ साउन । धनुषाको जनकपुरधाममा गए राति खुकुरी प्रहारबाट एक किशोरीको विभत्स हत्या भएको छ। घटनामा मृतककी आमा र एक अर्की बालिका गम्भीर घाइते भएका छन्।

मधेस प्रदेश प्रहरी प्रवक्ता डिएसपी विजय यादवका अनुसार, जनकपुरधाम उपमहानगरपालिका-४ जिरोमाइलमा भएको उक्त आक्रमणमा क्षिरेश्वरनाथ नगरपालिका-४ बटेश्वर घर भएकी १५ वर्षीया अञ्जलीकुमारी यादवको मृत्यु भएको हो। उनकी ३५ वर्षीया आमा आशा यादव र १४ वर्षीया भतिजी राधा यादव गम्भीर घाइते भएका छन्।

जनकपुरधाम-४ जिरोमाइलस्थित सूर्यनन्द चौधरीको घरमा डेरा गरी बस्ने उनीहरूमाथि गए राति करिब ११:३० बजे आक्रमण भएको थियो। घटनालगत्तै तीनै जनालाई प्रादेशिक अस्पताल लगिए पनि उपचारका क्रममा मध्यरातमा चिकित्सकले अञ्जलीलाई मृत घोषणा गरेका थिए।

प्रहरीले आक्रमणमा संलग्न व्यक्तिको पहिचान गरिसकेको छ। घटनामा क्षिरेश्वरनाथ नगरपालिका-९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहको संलग्नता रहेको आरोप छ। पेसाले सवारी चालक रहेका साह हाल फरार छन् र प्रहरीले उनको व्यापक खोजी गरिरहेको छ।

मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार, प्रारम्भिक अनुसन्धानमा साहले आमा आशामाथि आक्रमण गर्न खोज्दा छोरी अञ्जली र भतिजी राधाले रोक्न खोजेको देखिन्छ। “आक्रमणकारीले अन्धाधुन्ध खुकुरी प्रहार गरेको देखिन्छ। आमालाई बचाउन खोज्दा छोरीको घाँटीमा गहिरो चोट लाग्यो,” डिआइजी चतुर्वेदीले भन्नुभयो। घाइते आमा आशाको अवस्था पनि अत्यन्तै गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको छ। डिआइजी चतुर्वेदीले आरोपीको पहिचान खुलिसकेकाले छिट्टै पक्राउ पर्ने बताउनुभयाे ।