स्थानीय लिपि र परम्परागत प्रविधिमा राखिने परिचय पाटी, शुल्क लाग्ने आकारमा भए ९५ प्रतिशत राजस्व छुट – उपप्रमुख डंगोल

काठमाडौँ, भदौ १२ । काठमाडौँ महानगरपालिकाभित्र राखिने व्यवसायसँग सम्बन्धित परिचय पाटीलाई स्थानीय लिपि र स्वरुपमा राख्दा ३० वर्गफिट सम्मको क्षेत्रफलमा ९५ प्रतिशत छुट प्रदान गरिएको उपप्रमुख सुनिता डंगोलले जानकारी दिनुभएको छ । आज वडा नम्बर २३ ले आयोजना गरेको रञ्जना लिपिसहितको परिचय पाटी प्रवर्धनका विषयमा आयोजना गरिएको छलफलमा उहाँले भन्नुभयो, ‘हामीले सहरलाई दृश्य प्रदुषणबाट बचाउनु पर्नेछ । यसका लागि सूचना निकालेर औपचारिकता पूरा गरेको भए पनि हुन्थ्यो । तर, हामी औपचारिकता पूरा गरेर मात्र भन्दा नागरिकले अपनत्व गरेको कार्यक्रम सञ्चालन गर्न चाहन्छौँ । त्यसैले नागरिकका माझमा बसेर, प्रत्यक्ष कुरा सुनेर, नागरिकको मर्का बुझेर, नागरिककै चाहना बमोजिम नीति योजना तथा कार्यक्रम कार्यान्वयन गर्दैछौँ ।’

‘मौलिक लिपिको संरक्षण र सहरी सुन्दरता प्रवर्धनका लागि महानगरपालिकाले थालेका प्रयासका बारेमा हामी स्थानीय र करदातासँग बसेर छलफल चलाउन थालेका छौँ ।’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘व्यवसायीहरुले स्वतःस्फूर्त रुपमा मौलिकता प्रवर्धनको काम गरिरहनु भएको छ । यस वापत उहाँहरुलाई महानगरपालिकाले दिएको सुविधा थाहा नपाएर सुविधाबाट बञ्चित हुनु परेको छ । हामी चाहन्छौँ, जसका लागि सुविधाको व्यवस्था गरिएको छ । त्यो सुविधा उहाँले प्रचलनमा ल्याउने वातावरण बनाउन सकौँ । यसका लागि काम गरिरहेका छौँ ।’

त्यस क्रममा विधायन समितिका संयोजक एवं वडाका अध्यक्ष मचाराजा महर्जनले, मौलिकता संरक्षण र दिगो प्रवर्धनका लागि स्थानीयबाट नियमित सहयोग प्राप्त भइरहेको उल्लेख गर्नुभयो । वडा र वडाबासीका बिचको सम्बन्धलाई सरकार र नागरिकको जस्तो नभइ एउटै भान्छामा खाना खाने परिवार जस्तो बनाउन चाहेको उहाँको भनाइ थियो । ‘धातु, माटो, काठ, कपडा वा अन्य स्थानीय कच्चा पदार्थद्वारा निर्मित परिचय पाटीलाई अधिकतम ३० वर्गफिट सम्म ९५ प्रतिशत छुट दिने व्यवस्था भएको वडाध्यक्ष महर्जनले जानकारी दिनुभयो ।

महानगरपालिकाको आर्थिक ऐनबमोजिम १५ बर्गफिटसम्मको परिचय पाटीको कुनै पनि शुल्क र दस्तुर तिर्नु पर्दैन । १५ स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भए प्रति वर्ग फिट १ हजार रुपैयाँका दरले शुल्क तिर्नुपर्छ । स्थानीय लिपि र प्रविधिमा पाटी राख्दा यसमा ९५ प्रतिशत छुट प्राप्त हुने हो । महर्जनले स्पष्ट पार्नुभयो ।

छलफलमा महानगरपालिकाको राजस्व विभागका प्रमुख दिपक अधिकारीले चालु आर्थिक वर्षमा आर्थिक ऐनले प्रदान गरेका राजस्व छुट सम्बन्धी छुट व्यवस्थाका विषयमा जानकारी दिँदै स्थानीय उद्यमीले सहुलियत पाउने प्रबन्ध भएको बताउनुभयो ।

महानगरपालिकाले चालु आर्थिक वर्षको पुस महिनासम्म सम्पत्ति कर, व्यवसाय कर र बहाल कर वापतको रकम तिरेमा त्यस्तो कर रकममा १० प्रतिशत छुट सुविधा प्रदान गरेको छ । यस्तै एक वडा एक नमुना उद्यम कार्यक्रमअन्तर्गत सञ्चालित व्यवसाय दर्ता भएको तीन वर्षसम्म व्यवसाय करमा ९५ प्रतिशत कर छुट दिएको छ ।

महिला, जनजाति, दलित, अपाङ्गता भएका व्यक्ति र पैंतिस वर्षभन्दा कम उमेरका युवाका नाममा दर्ता गरेर सञ्चालन भएका पाँच लाख रुपैयाँसम्म पूँजीगत लगानी भएका उद्योग, व्यवसाय, कम्पनी र संस्थाहरूले २०८२ पुस मसान्तभित्र एकमुष्ट रुपमा कर रकम दाखिला गरेमा चालु आर्थिक वर्षका लागि व्यवसाय कर रकमको ४० प्रतिशत कर छुट हुनेछ । तर जरिवानामा छुट दिइएको छैन । काठमाडौँ महानगरपालिकामा स्थायी बसोबास भएका त्यस्ता व्यक्तिका हकमा जम्मा कर रकमको ५० प्रतिशत छुट हुन्छ ।