इरानमाथि कडा प्रहार गर्ने ट्रम्पको चेतावनी, जोर्डन र युएईका अमेरिकी सैन्य अखडामा आक्रमण

 

वासिङ्टन/तेहरान ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोर्डनस्थित अमेरिकी सैन्य अखडामा भएको आक्रमणको जवाफमा इरानलाई “कडा प्रहार गर्ने” चेतावनी दिनुभएको छ। इरानले जोर्डन र संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका अमेरिकी लक्ष्यहरूमा जवाफी हमला गरेको दाबी गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको हो।

लारक टापुमा अमेरिकी स्ट्राइक र इरानको दाबी
विवादको सुरुवात आइतबार अमेरिकी सेनाले इरानको लारक टापुमा रहेका दुईवटा रकेट लन्चरमा बमबारी गरेपछि भएको हो। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उक्त आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने केही लडाकु र सर्वसाधारण घाइते भएका छन्।

अमेरिकी अधिकारीहरूले भने इरानले रकेटको माध्यमबाट हर्मुज जलडमरूमध्य  मा ‘सी माइन’ (समुद्री सुरुङ) बिछ्याउन लागेको सूचना पाएपछि त्यसलाई रोक्न “सीमित र सटिक” कारबाही गरिएको दाबी गरेका छन्। अमेरिकी सेन्ट्रल कमाण्ड  का प्रवक्ता टिम हकिन्सले इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्स (IRGC) ले रकेटमार्फत समुद्री माइन प्रहार गर्ने तयारी गरिरहेको देखिएको बताउनुभयो।

जवाफी आक्रमण र दाबी-प्रतिदाबी
लारक टापुमा भएको हमलाको बदला लिन इरानले जोर्डनका दुई अमेरिकी बेस र युएईको अल मेन्हाद एअरबेसलाई निशाना बनाएको बताएको छ। यद्यपि, युएईको रक्षा मन्त्रालयले आफ्नो क्षेत्रमा कुनै पनि आक्रमण नभएको भन्दै इरानी दाबीलाई खारेज गरेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले फक्स न्युजसँग कुरा गर्दै इरानले प्रहार गरेका अधिकांश मिसाइलहरूलाई अमेरिकी प्रतिरक्षा प्रणालीले आकाशमै विफल पारिदिएको दाबी गर्नुभयो। “हामी उनीहरूमाथि कडा प्रहार गर्नेछौँ,” ट्रम्पले भन्नुभयो, “इरान अहिले अमेरिकासँग सम्झौताका लागि भिख मागिरहेको छ।”

क्षेत्रीय घेराबन्दीको रणनीति
यसैबीच, इरानका उप–सभामुख हमिदरेजा हाजी बाबेईले अमेरिकालाई यस क्षेत्रमा “घेराबन्दी” गर्नुपर्ने बताउनुभएको छ। उहाँले अमेरिकामाथि आर्थिक दबाब बढाउन सबै तेल निर्यातक देशहरूलाई निशाना बनाउनुपर्ने र साइबरदेखि प्रविधिसम्मका क्षेत्रमा अमेरिकालाई सहयोग गर्ने जोसुकैलाई पनि शत्रु मान्नुपर्ने चेतावनी दिनुभएको छ।

“घेराबन्दी सैन्य आक्रमणबाट मात्र तोडिने छैन, हामीले अमेरिकालाई यस क्षेत्रमै घेर्नुपर्छ,” बाबेईले भन्नुभयो।

पछिल्लो एक महिनाको शान्तिपछि सुरु भएको यो सैन्य भिडन्तले मध्यपूर्वमा फेरि ठूलो युद्धको खतरा निम्त्याएको भन्दै अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *