बागलुङ खण्डमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

काठमाडौँ, भदौ १४ । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कालीगण्डकी करिडोरको बागलुङखण्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाका अनुसार, बागलुङ नगरपालिका–१३ को कालाखोला भन्ने स्थानमा पहिरो खसेपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको हो । पहिरोका कारण उक्त खण्डमा यातायात सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ ।

कालाखोला क्षेत्रमा यसअघि पनि ठूलो पहिरो खसेको थियो, जसका कारण सडक खुलाउन समस्या भइरहेको छ । प्रहरीका अनुसार, कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकाले वर्षा रोकिएपछि सडक खुलाउने प्रयास गर्नेछन् ।