खार्ग टापु नजिकै इरानी तेल ट्याङ्करमा अमेरिकी मिसाइल प्रहार: मध्यपूर्वमा युद्धको खतरा बढ्यो
तेहरान/वासिङ्टन । इरानको रणनीतिक रूपमा महत्त्वपूर्ण खार्ग टापु नजिकै एउटा इरानी तेल ट्याङ्करमा अमेरिकाले शृंखलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको छ। इरानी सञ्चारमाध्यमहरूका अनुसार यो आक्रमणपछि क्षेत्रमा तनाव उत्कर्षमा पुगेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः इरानको ‘पिकेक्स माउन्टेन’मा “निकै छिट्टै” आक्रमण गर्ने चेतावनी दिनुभएको छ। ट्रम्पले यसअघि जुलाईको मध्यमा पनि यस्तै धम्की दिनुभएको थियो, जसलाई अहिले उहाँले फेरि दोहोर्याउनुभएको हो।
यसैबीच, इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरिफले अमेरिका सैन्य लक्ष्यहरू प्राप्त गर्न असफल भएपछि अब ‘आर्थिक युद्ध’ मा उत्रिएको आरोप लगाउनुभएको छ।
अमेरिकी चुनाव लक्षित इरानी रणनीति
अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरूका अनुसार इरानले आगामी आठ हप्ताभित्र द्वन्द्वलाई अझै बढाउन सक्ने देखिएको छ। अल जजीरासँग कुरा गर्दै दोहा इन्स्टिच्युटका प्राध्यापक मोहम्मद एलमस्रीले इरानले अब रक्षात्मक भन्दा पनि आक्रामक रणनीति अपनाउने सम्भावना रहेको बताउनुभयो।
न्युयोर्क टाइम्सले अमेरिकी गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै प्रकाशित गरेको रिपोर्ट अनुसार इरानले अब अमेरिकालाई द्वन्द्वको गति र तीव्रता निर्धारण गर्न नदिने रणनीति बनाएको छ। “इरानीहरूलाई लाग्छ कि यो राष्ट्रपति ट्रम्पका लागि कमजोरीको समय हो र यसको फाइदा उठाउन सकिन्छ,” एलमस्रीले भन्नुभयो।
मध्यावधि निर्वाचनमा असर पार्ने दाउ
विज्ञहरूका अनुसार इरानको यो सम्भावित आक्रामक कदमको उद्देश्य आगामी अमेरिकी मध्यावधि निर्वाचन मा रिपब्लिकन पार्टी र ट्रम्पलाई राजनीतिक क्षति पुर्याउनु हो। इरानको बुझाइमा अमेरिकी अर्थतन्त्रले थप अस्थिरता र क्षति सहन सक्ने अवस्था छैन। द्वन्द्व बढ्दा हुने आर्थिक भार र असुरक्षाले चुनावी नतिजामा ट्रम्पलाई धक्का लाग्न सक्ने विश्लेषण गरिएको छ।
पछिल्लो समय इरानले आफ्नो तेल निर्यात र समुद्री मार्गमा पकड जमाउन खोजिरहेका बेला भएको यो मिसाइल प्रहारले विश्वव्यापी तेल बजार र सुरक्षामा गम्भीर प्रश्न खडा गरिदिएको छ। अन्तर्राष्ट्रिय समुदायले भने दुवै पक्षलाई संयमता अपनाउन र पूर्णकालीन युद्ध रोक्न आग्रह गरिरहेका छन्।