सुरुङभित्रको उद्धार कार्य अब थप प्रभावकारी : स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन
काठमाडौँ, २० भदौ । जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य जोखिमपूर्ण भूमिगत क्षेत्रमा खोज र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयको विशेष पहलमा प्राप्त उक्त ड्रोन आइतबार नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो ।
स्विट्जरल्यान्डको विश्वप्रसिद्ध ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको यो ड्रोन विशेष गरी मानवीय उद्धार र जोखिमपूर्ण संरचनाको प्राविधिक निरीक्षणका लागि डिजाइन गरिएको हो ।
स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञहरूले प्राधिकरणका प्रतिनिधिलाई हस्तान्तरण गरेको यो ड्रोन मानिस प्रवेश गर्न नसक्ने अँध्यारो, साँघुरो र अक्सिजनको कमी भएका सुरुङभित्र सजिलै जान सक्छ । यसमा जडान गरिएको उच्च क्षमताको क्यामेरा र प्रकाश (लाइटिङ) प्रणालीले भित्रको वास्तविक दृश्य बाहिर पठाउँछ, जसले फसेका व्यक्तिको अवस्था बुझ्न र उद्धारको रणनीति बनाउन सहयोग पुग्नेछ ।
यो ड्रोनको मुख्य विशेषता यसको सुरक्षा कवच हो । विशेष सुरक्षा घेराभित्र रहेको यो ड्रोन सुरुङका भित्ता, चट्टान वा अन्य धातुका संरचनामा ठोक्किँदा पनि क्षति पुग्दैन र नखसी पुनः उडान भर्न सक्छ । यसले गर्दा जटिल भौगोलिक अवस्था भएका जलविद्युत्का सुरुङहरूमा यो निकै उपयोगी हुने प्राविधिकहरूको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार कुनै पनि सुरुङमा उद्धारकर्ता पठाउनुअघि यो ड्रोनमार्फत भित्रको जोखिम मूल्याङ्कन गर्न सकिनेछ । यसले उद्धार कार्यलाई सुरक्षित र छिटो बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
पछिल्लो समय भोटेकोशी र त्रिशूली क्षेत्रका जलविद्युत् आयोजनामा आएको बाढीका कारण सुरुङभित्र फसेकाहरूको खोजी कार्य चुनौतीपूर्ण बनिरहेका बेला स्विट्जरल्यान्डबाट प्राप्त यो प्रविधिलाई एक महत्त्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ । प्राधिकरणले यो ड्रोनलाई तत्कालै आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा परिचालन गर्ने जनाएको छ ।