सिमकोटमा अनिश्चितकालका लागि विद्युत् आपूर्ति बन्द, नागरिकको दैनिक जनजीवन कष्टकर

काठमाडौँ, भदौ २० हुम्लाको जिल्ला सदरमुकाम सिमकोटमा लामो समयदेखि विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जनजीवन नराम्ररी प्रभावित भएको छ। नेपाल विद्युत् प्राधिकरण, हिल्दुम वितरण केन्द्र अन्तर्गतको पावर हाउसमा प्राविधिक समस्या उत्पन्न भएपछि गत भदौ १६ गतेदेखि विद्युत् आपूर्ति बन्द भएको हो। विद्युत् सेवा ठप्प भएपछि सदरमुकाम र आसपासका क्षेत्रका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

वितरण केन्द्रका सूचना अधिकारी कृष्णप्रसाद वलीका अनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट ९ को कन्ट्रोल प्रणालीमा समस्या देखिएकाले विद्युत् आपूर्ति बन्द गर्नुपरेको हो। हुम्लामा उपलब्ध प्राविधिक जनशक्तिबाट उक्त समस्याको तत्काल समाधान सम्भव नभएकाले बाहिरबाट आवश्यक सामग्री र दक्ष प्राविधिक आएपछि मात्र मर्मत कार्य अघि बढ्ने उहाँले जानकारी दिनुभयो। सामग्री र प्राविधिकका लागि सम्बन्धित निकायमा खबर गरिसकिएको भए तापनि मर्मत सम्पन्न हुने निश्चित समय यकिन नभएकाले अर्को सूचना जारी नभएसम्मका लागि विद्युत् सेवा अवरुद्ध रहने केन्द्रले जनाएको छ ।

विद्युत् सेवा बन्द हुँदा सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था र सञ्चारमाध्यमको कार्यसम्पादनमा प्रत्यक्ष असर परेको छ। केही सरकारी कार्यालयहरूले सोलार प्रणालीको प्रयोग गरी कामकाज सञ्चालन गरे पनि सर्वसाधारण नागरिक भने सेवाबाट पूर्ण रूपमा वञ्चित भएका छन् । विशेषगरी अध्ययनरत विद्यार्थी र कोठा भाडामा बस्ने नागरिकहरू विद्युत् अभावको मारमा परेका छन्। मोबाइल चार्ज गर्न, इन्टरनेट चलाउन र दैनिक घरायसी विद्युतीय उपकरणहरू प्रयोग गर्न नपाउँदा स्थानीयको दैनिकी कष्टकर बनेको छ ।

लामो समयसम्म विद्युत् आपूर्ति नहुँदा प्रशासनिक र व्यावसायिक गतिविधिहरू समेत ठप्प हुन थालेपछि स्थानीय बासिन्दाले तत्काल वैकल्पिक व्यवस्था गरी विद्युत् सुचारु गर्न माग गरेका छन्। पटक पटक दोहोरिने यस्ता प्राविधिक समस्याका कारण सास्ती भोग्नुपरेको भन्दै हुम्लाका सरोकारवालाहरूले जिल्लाको विद्युत् सङ्कट समाधानका लागि दीर्घकालीन र स्थायी उपाय खोजिनुपर्नेमा जोड दिएका छन् ।