कुशको शव बनाएर अन्त्येष्टि पछि किरिया बस्दा बस्दै फर्किए चण्डिका, ११ दिनपछि जीवितै उद्धार

नुवाकोट, २० भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको ११ औँ दिनमा नुवाकोटको बेत्रावतीबाट ६५ वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार गरिएको छ। परिवारले उनी जीवित भेटिने आशा मारिसकेको र हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरी काजकिरिया समेत सुरु गरिसकेको अवस्थामा यो सुखद खबर प्राप्त भएको हो।

शनिबार दिउँसो करिब साढे १ बजेतिर बेत्रावती क्षेत्रमा बेपत्ताहरूको खोजीमा खटिएको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले लेदो र गेग्रानले पुरिएको एक घरको चौथो तलाबाट आवाज सुनेको थियो। बाढीले साविकको स्थानभन्दा झन्डै १०० मिटर तल बगाएर ल्याएको चार तले घरको चौथो तलाको केही भाग मात्र बाहिर देखिएको थियो।

“बचाऊ बचाऊ” भन्ने मधुरो आवाज सुनेपछि सुरक्षाकर्मीले घरको झ्यालको केही भाग फुटाएर उनलाई जीवितै बाहिर निकाल्न सफल भएका हुन्। उद्धार गर्दा उनी सानो ठाउँमा हिलोमा डुबेकाे अवस्थामा फेला परेकी थिइन्। बाढीले घर बगाउँदा उनी बेहोस भएको र लामो समयपछि होस आएको हुनसक्ने उद्धारकर्मीहरूको अनुमान छ।

चण्डिकाका सम्धी रमेशमान श्रेष्ठका अनुसार बाढी आएको दिनदेखि नै परिवारले बेत्रावती क्षेत्रमा उनको व्यापक खोजी गरेको थियो। छोरा र ज्वाइँले ज्यान जोखिममा राखेर हिलो र दलदलका बिच खोजी गरे पनि कुनै अत्तोपत्तो नपाएपछि उनीहरू निराश भएका थिए। “बाढीले घरै बगाएर त्रिशूलीको फेदमा पुर्‍याएको र चारैतिर लासको गन्ध आउन थालेकाले कोही जीवित होलान् भन्ने आशै थिएन,” रमेशमानले भन्नुभयो।
खोजी गरेको आठौँ दिनसम्म पनि शव समेत फेला नपरेपछि परिवारले धार्मिक विधिअनुसार कुशको प्रतीक बनाएर पशुपति आर्यघाटमा दाहसंस्कार गरेका थिए र घरमा काजकिरिया सुरु भइसकेको थियो।

उद्धार लगत्तै उनलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ। ११ दिनसम्म भोकै र हिलोमा थुनिएका कारण उनको शारीरिक अवस्था कमजोर भए पनि उनी बोल्न सक्ने अवस्थामा रहेको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *