पचली भैरवको जात्रा विधिवत् सम्पन्न : कुमारीलाई भैरव दर्शन गराइयो

काठमाडौँ, १२ असोज  । यस वर्षको पचली भैरव जात्रा शुक्रबारदेखि सुरु भई विधिपूर्वक सम्पन्न भएको छ । असोज शुक्ल पञ्चमीको राति जीवितदेवी कुमारीलाई भैरवको दर्शन गराएसँगै जात्रा समापन भएको हो । कुमारीलाई भैरवको दर्शन गराउँदा शक्ति प्राप्त हुने जनविश्वासअनुसार हनुमानढोकामा पचली भैरवलाई लगेर कुमारीलाई दर्शन गराइएको थियो । यसका लागि काठमाडौँ महानगरपालिका-१२ स्थित पचली पीठबाट विशेष बाजागाजासहित भैरवको खट हनुमानढोका पुर्‍याइएको थियो ।

चित्रकारले घ्याम्पोमा भैरवको विम्ब बनाएर पचलीबाट सुरु गरिएको भैरवको खटलाई नगर परिक्रमा गराउँदा स्थानीय टोलहरूमा भव्य स्वागत गरिएको थियो भने दर्शनका लागि सर्वसाधारणको घुइँचो लागेको थियो । जात्रा टेकु, लगन, ज्याबहाल, मरु, हनुमानढोका, दलाछी, श्वेतभैरव, यङ्गाललगायत भित्री सहरका विभिन्न भागमा परिक्रमा गराइएको थियो ।

काठमाडौँ महानगरपालिका-१२ का वडाध्यक्ष एवं जात्रा व्यवस्थापन समिति संयोजक बालकृष्ण महर्जनका अनुसार विभिन्न नकारात्मक तथा खराब शक्तिबाट नागरिकलाई संरक्षण गर्ने उद्देश्यले पचली भैरवलाई टेकुमा स्थापना गरिएको हो । कला र संस्कृतिले भरिपूर्ण काठमाडौँमा नेवार समुदायले उपत्यकाको सुरक्षाका लागि परापूर्वकालदेखि भैरव जात्रा गर्दै आएका छन् ।