चन्दा संकलन गरी म्याग्दी र कास्की, सडक सञ्जालमा जोडिए

काठमाडौँ, असोज २३ । स्थानीय बासिन्दाले चन्दा संकलन गरी म्याग्दी र कास्की जिल्लालाई सडक सञ्जालमा जोडेका छन् । अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काका अनुसार, स्थानीयले चन्दा संकलन गरेर घोडेपानी-नागेठाँटी-वनठाँटी खण्डमा दुई किलोमिटर ट्र्याक निर्माण गरेपछि यी दुई जिल्ला सडक सञ्जालमा जोडिएका हुन् ।
उहाँले भन्नुभयो, “पोखरेबगरदेखि तल्लो घोडेपानी र कास्कीको नयाँपुलदेखि उल्लेरी हुँदै वनठाँटीसम्म यसअघि नै सडक निर्माण भएर यातायात सञ्चालन हुँदै आएको थियो । प्रदेश राजधानी र प्रमुख पर्यटकीय गन्तव्य मुस्ताङ जोड्न यो छोटो बाटो भएकाले उल्लेरी, शिख, घार र घोडेपानीका बासिन्दाले चन्दा संकलन गरेर ट्र्याक खोलेका हुन् ।”
मध्यपहाडी लोकमार्गको नयाँपुलदेखि कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकमा पर्ने पोखरेबगर जोड्ने यो सडक खण्डको कुल लम्बाई ४० किलोमिटर रहेको छ ।