शेयर बजार बाइस अंकले बढ्याे, कारोबार रकम भने सामान्य घट्यो

काठमाडाैं, २३ असाेज । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक २२.५९ अंक बढेर २५८२.१८ विन्दुमा पुगेको हाे। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंक बढेको छ।

नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जामा २५ करोडको सीमा हटाएसँगै यस दिन बजार सकारात्मक भएको हो।

सीमा हटाएपछि लगानीकर्ताहरु उत्साहित हुँदा नियमित बजार खुलेको ३ मिनेटमा नै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको थियो। सर्किट लागेर २० मिनेट कारोबार स्थगित भएपश्चात खुलेको बजारले भने सोही क्रमलाई निरन्तरता दिन सकेन। फलस्वरुप नेप्से सामान्य अंक बढेर बन्द हुन पुग्यो।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ५ अर्ब ७६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१३ स्टकको ५६ हजार ३२१ पटकको कारोबारमा ५ अर्ब २७ करोड ३२ लाख २१ हजार रुपैयाँबराबरको १ करोड १८ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ८.२१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन एशियन हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ भने एमबिएल इक्विटी फण्डको इकाईमूल्य करिब ५ प्रतिशत बढेको छ।

कारोबारमा आएको थ्रिस्टा हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.०९ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ३४ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ।

त्यस्तै, यस दिन यूनियन हाइड्रापावरको कारोबार रकम २७ करोड नाघेको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब २१ करोडको शेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *