रोनाल्डो पेनाल्टीमा चुके पनि पोर्चुगल विजयी

लिस्बन, २६ असोज । विश्वकप छनोटअन्तर्गत युरोेपेली समूहमा पोर्चुगलले आयरल्यान्डलाई १–० ले हराएको छ । खेलमा १४१ गोलसहित सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा गोल गर्न चुकेका थिए । यद्यपि रुवेन नेभेसले इन्जुरी समयमा गरेको गोलका कारण पार्चुगल घरेलु मैदानमा निराश हुनुपरेन ।

रोनाल्डोले खेलको ७५ औँ मिनेटमा पेनाल्टीमा गोल गर्न नसकेपछि खेल बराबरीतर्फ अग्रसर थियो । रोनाल्डोको प्रहारलाई आयरल्यान्डका गोलरक्षक काइओइमिन केलेहरले खुट्टाले बचाएका हुन् । लिस्बनमा भएको खेलको २१ औँ मिनेटमा समर्थकले दिवंगत डिओगो जोटाको सम्झनामा ताली बजाएका थिए । गत जुलाईमा आफ्ना कार दुर्घटनाममा ज्यान गुमाएका जोटाले पोर्चुगलका लाग २१ नम्बरको जर्सी लगाउने गर्थे ।अहिले सो जर्सी गोकलर्ता नेभेसले लगाएका छन् ।

समूह एफमा पोर्चुगलको यो लगातार तेस्रो जित हो । उसले दोस्रो स्थानमा रहेको हङगेरीलाई पाँच अङकले पछाडि पारेको छ । अर्को खेलमा हङगेरीले आर्मेनियालाई २–० ले हराएको थियो ।