एसिसी प्रिमियर कप फाइनल : टस जितेर पहिले ब्याटिङ रोज्यो नेपालले

काठमाडौं, २७ भदौ । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस जितेर संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ रोजेका हुन्।

दुवै टोली दोस्रोपटक यस प्रतियोगिताको उपाधि उचाल्ने दाउमा छन्। सन् २०२३ मा काठमाडौंमा भएको पहिलो संस्करणको फाइनलमा नेपालले युएईलाई नै ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो भने सन् २०२४ को दोस्रो संस्करणमा आयोजक ओमानलाई हराउँदै युएई च्याम्पियन बनेको थियो। तेस्रोपटकको विजेता टोलीले मात्र आगामी एसिया कपमा स्थान सुरक्षित गर्ने भएकाले यो भिडन्त दुवै टोलीका लागि निकै महत्वपूर्ण मानिएको छ।

जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँचमध्ये चार खेल जितेको छ भने एउटामा पराजय बेहोरेको छ। युएई भने अपराजित रहँदै फाइनलमा प्रवेश गरेको टोली हो।

नेपालले प्लेइङ-११ मा कप्तान सन्दीप लामिछानेसहित आसिफ शेख (विकेटकिपर), अर्जुन कुमाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुल्सन झा, ललित राजवंशी र करण केसीलाई उतारेको छ।

एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भइसकेको छ, जसमध्ये नेपाल ११ खेलमा विजयी भएको छ भने युएईले ८ खेल आफ्नो पक्षमा पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *