मनाङमा हिउँमा फसेका पर्यटकको उद्धारमा सवारीसाधन अभाव

मनाङ, १२ कात्तिक । भारी हिमपातका कारण मनाङको जनजीवन प्रभावित बनेको छ । हिउँमा फसेका पर्यटकको उद्धारमा सुरक्षा निकाय बिहानैदेखि प्रयासरत रहे पनि सवारीसाधनको अभावका कारण उनीहरूलाई सकस भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले हिउँमा फसेका पर्यटकको उद्धारमा सवारीसाधनको अभाव भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फसेका पर्यटकको उद्धार गरिरहेका छौँ । हिउँमा सवारीसाधन पनि फसेकाले सकस भएको छ । अन्य सवारीसाधनको अभाव छ ।”

तिलिचो आधार शिविरमा अलपत्र परेका पर्यटकलाई उद्धार गरी खाङ्सारमा अन्य व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । पच्चिस किलोमिटर सडकबाट हिउँ फालेर आवागमन सहज बनाइएको जानकारी पनि उहाँले दिनुभयो ।

स्थानीय पर्यटन व्यवसायीका अनुसार, केही पर्यटकलाई घरबास तथा केहीलाई निजी घरमा व्यवस्थापन गरिएको छ । उनीहरूका अनुसार सबै विदेशी पर्यटक सुरक्षित छन् ।