बाढी प्रभावितको पुनःस्थापनामा जुट्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन, घाइतेहरूको अवस्था बुझ्न अस्पतालमा

काठमाडौँ, भदौ ११ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बाढीजन्य विपद्का कारण घाइते भएका तथा परिवार र सम्पत्ति गुमाएका व्यक्तिहरूको तत्काल पुनस्र्थापना र राहत सुनिश्चित गर्न निर्देशन दिनुभएको छ ।

मङ्गलबार महाराजगन्जस्थित शिक्षण अस्पताल (टिचिङ) र राष्ट्रिय ट्रमा सेन्टर पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएपछि उहाँले महानगरका सम्बन्धित अधिकारीहरूलाई यस्तो निर्देशन दिनुभएको हो । निरीक्षणका क्रममा उहाँले अस्पतालमा उपचाररत घाइते, उनीहरूका परिवार र बाढीमा परी आफन्त गुमाएका व्यक्तिहरूसँग भेट गरी सहानुभूति प्रकट गर्नुभयो ।

त्यस अवसरमा कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, “अहिले राष्ट्रिय संकटको घडी छ । संकटमा परेकाहरूको जीवन रक्षा, उद्धार र राहत हाम्रो पहिलो प्राथमिकता हो । जसले परिवार र आफन्त गुमाउनुभएको छ, उहाँहरूका लागि महानगरपालिकाले सहारा प्रदान गर्नेछ । विपद्ले सबैथोक गुमाएका व्यक्तिहरूको पुनस्र्थापना कार्यलाई तत्काल अगाडि बढाउनुहोस् ।”

निरीक्षणका क्रममा उहाँले विशेष गरी ‘रेड जोन’ र आइसीयुमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्था, उपचार विधि र उपलब्ध साधन–स्रोतबारे जानकारी लिनुभएको थियो । सो क्रममा शिक्षण अस्पतालका उपनिर्देशकद्वय डा. पवनराज चालिसे र डा. गोपाल सेढाईँका साथै गुनासो अधिकारी विपिन उपाध्यायले अस्पतालको मौजुदा अवस्थाबारे अवगत गराउनुभएको थियो ।

अस्पतालका उपनिर्देशक डा. चालिसेले आकस्मिक स्वास्थ्य सेवाका लागि पर्याप्त औषधिको अभाव हुन सक्ने तर्फ ध्यानाकर्षण गराउँदै महानगरपालिकाबाट सहयोगको अपेक्षा गर्नुभयो । जवाफमा कार्यवाहक प्रमुख डंगोलले औषधि तथा आवश्यक स्वास्थ्य उपकरणका लागि महानगरले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “उपचारमा कुनै कमी हुन नदिनुहोस्, आवश्यक पर्ने सहयोगका लागि महानगरपालिका सँगै छ ।”

डंगोलले अस्पताल परिसरमा स्थापना गरिएको ‘वेपत्ता व्यक्तिहरूको विवरण संकलन कक्ष’ को समेत निरीक्षण गरी आफन्तको पर्खाइमा रहेका परिवारजनसँग कुराकानी गर्नुभएको थियो । यस्तै, ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको अवस्थाबारे कार्यकारी निर्देशक डा. रुद्र मरासिनीले जानकारी गराउनुभएको थियो ।

निरीक्षण टोलीमा महानगरको स्वास्थ्य विभागका प्रमुख दिपककुमार के.सी. र महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशी लगायतको सहभागिता रहेको थियो ।