सामान्य अंक बढेर बन्द भयाे नेप्से, कारोबार रकम ५ अर्ब ८२ करोड
काठमाडाैं, ९ मङ्सिर । मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ५.३२ अंक बढेर २६५५.९९ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स, फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्समा पनि सामान्य वृद्धि भएको छ।
यद्यपि, बढेको बजारमा कारोबार रकम भने घटेको छ। सोमबार ७ अर्बभन्दा बढीको कारोबार भएकोमा मंगलबार ३१९ स्टकको १ लाख २ हजार ६४२ पटकको कारोबारमा ५ अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ७६ हजार कित्ता शेयर किनबेच भएको छ।
मंगलबार तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । झापा इनर्जी, सागर डिष्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीज। स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढ्दा बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ। यस दिन जोशी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा बन्दीपुर केबलकार एण्ड टुरिजम अग्रस्थानमा रहेको छ, जसको २६ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, हिमालयन रि इन्स्योरेन्सको २४ करोडभन्दा बढी र ङादी ग्रुप पावरको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये ९ वटाको परिसूचकमा वृद्धि भएको छ भने ४ वटाको घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ। व्यापार उपसमूहको परिसूचक भने सर्वाधिक १.३३ प्रतिशतले घटेको छ।