‘जसको कोही छैन, केही छैन, त्यसका लागि काठमाडौँ महानगरपालिका छ’ – उपप्रमुख डंगोल
काठमाडौँ, मंसिर ११ । सन्तान भएर मात्र हुँदैन । दुःख परेका बेला, विराम लागेका बेला साथमा नभए, हुनु र नहुनुको फरक हुँदैन । काठमाडौँ सहरमा यस्ता धेरै ज्येष्ठ नागरिक हुनुहुन्छ । सम्पत्ति भएर पनि, धेरै सन्तान भएर पनि एक्लो जीवन बाँचिरहनु परेको छ । यस्तो प्रतिकुल समयसँग बाँचिरहनु भएका व्यक्तिहरुका लागि महानगरपालिकाले साथ प्रदान गर्नेछ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल भन्नुहुन्छ, एक्लो भएका कारण विरामी हुँदा पनि उपचारमा जान नसक्नेहरु पनि महानगरपालिका छ भन्ने महसुस गराउन सकेका छौँ । यो सुखद नतिजाको प्रारम्भ हो ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, एकल महिला, हिंसामा परेका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसामा परेका व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्योपचार प्रदान गर्न काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालयसँग सम्झौता गरेपछि प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो । त्इस अवसरमा उपप्रमुख डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहबरमा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
यो सम्झौताको सदुपयोग गरेर स्वास्थ्योपचारमा पहुँच वृद्धि गरिने बताउँदै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, सहकार्यबाट सकारात्मक नजिता प्राप्त भएको बताउनुभयो ।
अस्पतालका अध्यक्ष डा. श्रेष्ठले, स्वास्थ्योपचारमा महत्व नदिने पाका व्यक्तिहरु उपचारका लागि आउन थाल्नु, समुदायका मानिसहरु उपचारका बारेमा सोधखोज गर्न थाल्नु, महानगरपालिकाको सहयोग प्राप्त भएको नतिजा भएको बताउनुभयो ।
सम्झौताबमोजिम काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुलाई पनि उपचार सेवा उपलब्ध हुनेछ । महिला कर्मचारी तथा जनप्रतिनिधिलाई म्यामोग्राम सेवा उपलब्ध गराइनेछ ।
लैङ्गिक हिंसामा परेका व्यक्ति, वेवारिसे व्यक्ति, एकल महिला, अपाङ्गता भएका व्यक्ति र सिटी स्क्यान गर्नु पर्ने कर्मचारीहरुका लागि सामाजिक विकास विभागको शिफारिस आवश्यक हुनेछ । यसरी गरिएको उपचार खर्च महानगरपालिकाले व्यहार्नेछ । उपचार सहकार्यका लागि महानगरपालिकाले १ करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ । यसमा अस्पतालले ३० प्रतिशत थप गरेर १ करोड ८० लाख रुपियाँ बराबरको उपचार सेवा उपलब्ध हुनेछ ।
चालु आर्थिक वर्षका लागि सम्झौता भएको हो ।
सेवा लिन कर्मचारी र जनप्रतिनिधिहरुलाई परिचय पत्र, ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता कार्ड, राष्ट्रिय परिचय पत्र, नागरिकता चाहिन्छ ।