चुनावी घोषणा पत्रमा भएका कार्यक्रम कार्यान्वयनमा उपप्रमुखको निगरानी

जनतासँग गरेका बाचा पूरा गराउने लक्ष्यमा पुग्न आपसी सहकार्य र समन्वयमा उपप्रमुखको निर्देशन

काठमाडौँ, मंसिर १७ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आफूले जनतासँग गरेका बाचा पूरा गराउन विभागहरुबाट समन्वय र सहकार्यको गतिलाई प्रभावकारी बनाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । महानगरपालिकाको आ. व. २०८१/०८२ को वार्षिक समीक्षा कार्यक्रम प्रगति विवरण सम्बन्धी प्रस्तुतिकरणपछि उहाँले अहिलेसम्म हासिल गरेका नतिजाहरु सकारात्मक भएको बताउनुभयो । ‘केही सुधार गर्नुपर्ने, समन्वय र सहकार्यबाट नतिजा प्राप्त गर्नु पर्ने पनि देखिएको छ । यसलाई प्रभावकारी बनाउन आन्तरिक समन्वयमा जोड दिनुहोला ।’ उहाँले विभागीय प्रमुखहरुलाई आग्रह गर्नुभयो ।

५२.२३ प्रतिशत खर्च र आन्तरिक आयमा ७४.१५ प्रतिशत लक्ष्य हासिल हुनुले उपलब्ध मानवीय पूँजी, स्रोत साधनको क्षमताबाट थप नतिजा प्राप्त गर्न सक्ने देखाएको छ । अन्तरसरकार, साझेदार–साझेदार र आन्तरिक समन्वय र सञ्चारलाई बलियो बनाउनु पर्ने बेला भएको छ । उहाँको भनाइ थियो ।

‘अनुगमन मूल्याङ्कनबाट योजना निर्माणको गुणस्तर र दिगोपनामा प्रभाव देखिएको छ । योजना कार्यान्वयन भएपछि अनुगमन गर्नुभन्दा ड्रइङ्, डिजाइनिङ् र नक्साङ्कनबाटै जनअपेक्षित पूर्वाधार निर्माणमा हाम्रो ध्यान छ । योजनावद्ध, एकीकृत र वातावरणमैत्री पूर्वाधार निर्माणले सामाजिक सुरक्षालाई बलियो बनाउँछ ।’ समीक्षाका विषयमा प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘स्थानीय अर्थतन्त्र, आधारभूत र आकस्मिक स्वास्थ्य सेवामा सहज पहुँच, विपद पूर्वतयारीमा समुदायको क्षमता विकास, करदातामैत्री राजस्व प्रशासन, स्वच्छ, सफा र हराभरा सहरी वातावरण, मूर्त अमूर्त सांस्कृतिक संस्कारको व्यवस्थापन, संरक्षण र प्रवर्धन, रचनात्मक तथा सिर्जनात्मक सहर निर्माणका क्षेत्रमा सम्पन्न कामलाई सुक्ष्म विश्लेषण गरेका छौँ । सिकाइलाई संस्थागत गर्छौँ । कमजोरी सुधार गर्छौँ । ’

उहाँले, समीक्षामा लैङ्गिक उत्तरदायी र समावेशी सहर निर्माणमा हामीले गरिरहेका कामको विश्लेषण, विद्युतीय प्रणालीमार्फत हातहातमा प्रदान हुने सेवा, ज्येष्ठ नागरिक, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरुका लागि विशेष कार्यक्रम, मानवीय सहर निर्माणका प्रयत्न, परम्परागत सिपलाई उद्यममा रुपान्तरण गरेर स्थानीय आयमा टेवा पु¥याउने कार्यक्रम, विवाद निरुपणका लागि वडा स्तरीय संयन्त्र यस्ता कार्यक्रममा गरिएको लगानी र प्रतिफलको तुलना गरिएको बताउनुभयो ।

गुनासो व्यवस्थापन, डिजिटल गभर्नेन्स, सार्वजनिक सम्पत्ति संरक्षणका कार्यक्रम नियमित चलिरहेका छन् । युवा लक्षित खेलकुद, रोजगार र स्वरोजगारमूलक कार्यक्रम महानगरपालिकाका नियमित कार्यक्रम हुन् । उहाँको भनाइ छ ।

यस बर्षका लागि महानगरपालिकाको २५ अरब ८६ लाख ५२ हजार रुपियाँ बजेट विनियोजन भएको थियो । विनियोजित रकमको ५२.१२ प्रतिशत अर्थात् १३ अरब ३ करोड ६९ लाख १३ हजार रुपियाँबाट काम भयो । यसमा चालुतर्फ ६ अरब २२ करोड ९० लाख १६ हजार रुपियाँ र पूँजीगततर्फ ६ अरब ७३ करोड ७८ लाख ९६ हजार रुपियाँ र बित्तीय खर्च ७ करोड रुपियाँ खर्च भएको छ ।

यस वर्ष आर्थिक विकास क्षेत्रमा ३७.६७ प्रतिशत, सामाजिक विकास क्षेत्रमा ४७.९१ प्रतिशत, पूर्वाधार विकास क्षेत्रमा ५२.५२ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २८.८८ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ७७.०२ प्रतिशत खर्च भएको छ । आ. व. २०८०÷०८१ मा यी क्षेत्रहरुमा क्रमशः ३८.११ प्रतिशत, ६०.३४ प्रतिशत, ४६.३५ प्रतिशत, ३१.६१ प्रतिशत र ७३.१३ प्रतिशत खर्च भएको थियो । यस वर्ष कुल खर्च ५१.०३ प्रतिशत थियो ।