साताको अन्तिम कारोबार दिन नेप्सेमा गिरावट, कारोबार रकममा भने वृद्धि
काठमाडाैं, १७ मङ्सिर । बुधबार नेप्से परिसूचक १३.५२ अंक घटेर २६३१.१७ विन्दुमा पुगेको छ।यसदिन पनि साताको पहिलो कारोबार दिनदेखि सुरु भएको गिरावटको क्रमलाई निरन्तरता दिएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.०३ अंक, फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०४ अंक घटेको छ।
नेप्से घटे पनि यस दिन कारोबार रकममा भने वृद्धि भएको छ। मंगलबार ४ अर्ब ४८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा बुधबार ३३२ स्टकको ६७ हजार ४८५ पटकको कारोबारमा ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ५ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सागर डिष्टिलरी, मिथिला लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य ७ प्रतिशत र बुङ्गल हाइड्रोको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ। यस दिन घटेका स्टकहरूको मूल्य गिरावट दर भने ३ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा बन्दीपुर केबलकार एण्ड टुरिजम शीर्ष स्थानमा रहेको छ, जसको १८ करोड ४९ लाख ७६ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। हिमालयन रि इन्स्योरेन्सको करिब १८ करोड रुपैयाँ र ङादी ग्रुप पावरको साढे १४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१८ प्रतिशत घटेको छ।