झुटो विवरण पेस गरी नागरिकता र राहदानी बनाउने ३ जना पक्राउ
काठमाडौँ, ३ पुस । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाएको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा दाङका यमबहादुर बस्नेत, झापाका कृष्णबहादुर कटुवाल र सूर्यबहादुर खड्का रहेका छन् । उनीहरूले कीर्ते कागजात बनाउने कार्यमा संलग्न रहेको पाइएपछि नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकाहरूलाई नागरिकता, लिखत कीर्ते र सङ्गठित अपराध कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।