तनहुँमा हुरी चल्दा ट्रान्सफर्मरमा क्षति
काठमाडौं, १९ जेठ । यही जेठ १२ र १३ गते हुरी चल्दा तनहुँमा सातवटा ट्रान्सफर्मर जल्दा ६० वटा ट्रान्सफर्मरको सेवा अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा २० हजारभन्दा बढी उपभोक्ता प्रत्यक्ष प्रभावित भएको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।
यद्यपि अहिले भने विद्युत् प्रवाह सुरु गरिएको कार्यालय प्रमुख इन्जिनियर पवन पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ठूला क्षति भएका काम सकाएर, अहिले तार चुडिएको क्षेत्रमा मर्मत भइरहेको छ, कर्मचारीले चार दिनसम्म मेहनत गरेपछि अहिले विद्युत् पुनः सञ्चालन गर्न सफल भएका हौँ ।” हुरीका कारण जिल्लाको तनहुँसुर, साँघे, ऋषिङ, घिरिङ, भानु नगरपालिका, व्यास–१३ को पोखरीभञ्ज्याङलगायत क्षेत्रमा बढी क्षति भएको उहाँको भनाइ छ ।
हुरीले ढलाएको २६ वटा विद्युत् पोल गाड्ने काम पनि सकिएको छ । जिल्लाको २७ हजार किमी दूरीमा विद्युत् विस्तार भएकाले मर्मतमा ढिलाइ र कठिनाइ भोग्नुपरेको उहाँले बताउनुभयो । हुरी र वर्षात्का कारण विद्युत् क्षेत्रमा भएको क्षतिको विवरण आइनसकेको र सङ्कलन भइरहेको सो केन्द्रले जनाएको छ ।