जबरर्जस्ती करणी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ: पीडितले आत्महत्या गरेपछि प्रहरीले बढाएको थियो सक्रियता

सिरहा, १३ पुस । सिरहामा जबर्जस्ती करणी उद्योग मुद्दामा संलग्न भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवाजपुर गाउँपालिका–३ का २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार उनीहरूले नवाजपुर–३ स्थित आँप बगैँचामा एक युवतीलाई जबर्जस्ती करणी गरेका थिए । उक्त घटनापछि मानसिक तनावमा परेकी पीडित युवतीले गत वैशाख २ गते आफ्नै घरमा आगो लगाएर आत्महत्या गरेकी थिइन् ।

घटनापछि फरार रहेका उनीहरू भारतका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए । उनीहरू नेपाल–भारत सीमा क्षेत्रमा आएको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेशपुरपाटारबाट खटिएको टोलीले यही पुस ९ गते सीमा नजिकैको झाँपडिबाट पक्राउ गरेको हो ।

पीडितको आत्महत्याले घटनालाई थप गम्भीर बनाएपछि प्रहरीले उनीहरूको खोजतलासलाई तीव्र बनाएको थियो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय महेशपुरपाटारमा राखेर थप कानुनी अनुसन्धान अघि बढाइएको डीएसपी पालले जानकारी दिनुभयो ।