एनकेएल प्लेयर ट्रायल्स आइतबारदेखि हुने

काठमाडौँ, २५ पुस ।  केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको लागि खेलाडी छनोटको रुपमा ‘प्लेयर ट्रायल्स’ आइतबारदेखि दशरथ रंगशालास्थित कभर्ड हलमा हुने भएको छ ।जसमा उत्कृष्ट प्रदर्शन गर्दै खेलाडीहरूले एनेकएल ड्राफ्टमा स्थान बनाउन सक्नेछन् ।

एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टको प्राविधिक टोलीले दोस्रो सिजनको लागि दर्ता भएका ५ सय १२ जना खेलाडीबाट छनोट गरेका १ सय ८० जना खेलाडी दुई दिने प्लेयर ट्रायल्समा सहभागि हुनेछन् । प्लेयर ट्रायल्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एनकेएल ड्राफ्टमा छनोट गरिनेछ ।

ड्राफ्टमार्फत् ६ टिमले एनकेएल दोस्रो सिजनमा प्रतिस्पर्धा गर्ने टिम तयार पार्नेछन् । एनकेएलले नेपाल कबड्डी संघ (एन्का) को सहकार्यमा तयार पारेको प्राविधिक टोलीले प्लेयर ट्रायल्सबाट ड्राफ्टका लागि खेलाडी छनोट एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले बताएका छन् । उनी भन्छन्, ‘प्लेयर ट्रायल्सबाट छनोट हुने उत्कृष्ट खेलाडीले ड्राफ्टमा अवसर पाउनेछन् । र, ड्राफ्टमा उपलब्ध खेलाडीहरू लिएर टिम तयार हुनेछन् । त्यसैले दोस्रो सिजनमा खेलाडीसँगै टिमको प्रदर्शन उत्कृष्ट र व्यावसायिक हुने अपेक्षा गरेका छौं ।’

बेगानी ग्रुपको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघको स्वीकृतिमा केबी साम एनकेएलको पहिलो संस्करण गत वर्ष सफलतापूर्वक आयोजना गरेको थियो । उसले संघसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिमको अवधारणामा एनकेएल सञ्चालन गरेको हो । अहिले दोस्रो सिजनको तयारीलाई तीब्रता दिइएको छ ।

एनकेएल सिजन २ को तयारीमा एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डीलाई ग्रासरुटबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप पनि आयोजना गर्दैछ । फ्रेन्चाइज टिमको आधारमा पहिलो सिजन ६ सहरका ६ टिम विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौं माभरिक्सलाई ४३–४१ ले पराजित गर्दै जनकपुर नाइट्स एनकेएल च्याम्पियन भएको थियो । पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम रोका मगर र हिमालयन रेइडर्सका गणेश पार्कीले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेलेका थिए । एनकेएल सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै घोषणा गरिनेछ ।