रास्वपाको बारा बैठकमा कार्यकर्ताले लखेटे रहबर अन्सारीसहितका सांसदहरू, नाराबाजी गर्दै हातपातकाे प्रयास

बारा, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला स्तरीय विस्तारित बैठकमा बुधबार तनाव सिर्जना भएको छ । जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेपछि आक्रोशित बनेका उनका समर्थकहरूले बैठक बिथोल्ने प्रयास गरेका हुन्।

कलैयास्थित करणराज होटलमा आयोजित कार्यक्रममा स्वर्णकार पक्षधर कार्यकर्ताहरूले पार्टीका सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, अरबिन्द साह र चन्दन सिंहविरुद्ध चर्को नाराबाजी गर्दै हातपातको प्रयास गरेका थिए ।

स्वर्णकारका समर्थकहरूले पार्टीको निर्णय अन्यायपूर्ण रहेको भन्दै बाराका सांसदहरूलाई होटल परिसरबाटै लखेटेका थिए। उनीहरूले सांसदहरूकै दबाबमा लोकप्रिय जिल्ला नेतालाई हटाइएको आरोप लगाएका छन्। प्रहरीले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर अहिले सांसदहरूलाई सुरक्षित स्थानमा राखेको छ भने होटलभित्र कार्यक्रम सुचारु गर्ने प्रयास भइरहेको छ।

पार्टीभित्रको आन्तरिक कलह सडकमा आएपछि बारा रास्वपामा विवाद झन् चर्किएको छ। अहिले कलैयाको करणराज होटल आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।