चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनः सञ्चालनमा, कर्मचारी पुगेपछि स्थानीय उत्साहित

ताप्लेजुङ, ९ जेठ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको टिप्ताला नाका कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। कोभिड–१९ को महामारीपछि पूर्ण रूपमा बन्द रहेको ओलाङचुङ्गोला भन्सार कार्यालयमा बिहीबार कर्मचारी पुगेपछि नाका नियमित सञ्चालनमा आएको हो।

फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार विगत लामो समयदेखि यो भन्सार कार्यालय स्थानीय सहयोगीका भरमा मात्र चल्दै आएको थियो। भन्सार विभागले नायब सुब्बा प्रदीप धिताललाई प्रमुखका रूपमा खटाएपछि अब नाकाबाट हुने व्यापारिक गतिविधि र राजस्व सङ्कलनले गति लिने विश्वास गरिएको छ।

ओलाङचुङ्गोलालाई नेपालको पूर्वी क्षेत्रबाट चीनको तिब्बत जोड्ने सबैभन्दा छोटो व्यापारिक मार्ग मानिन्छ। ओलाङचुङ्गोला बस्तीबाट मात्र २४ किलोमिटरको दूरीमा नेपाल–चीन सीमास्थित टिप्ताला नाका पर्दछ। पछिल्लो समय यो क्षेत्र सडक सञ्जालसँग समेत जोडिएकाले नाका सञ्चालन हुनुलाई स्थानीयले समृद्धिको ढोका खुलेको रूपमा लिएका छन्।

भन्सार सञ्चालनमा आए पनि करिब ४० वर्षअघि निर्माण गरिएको कार्यालय भवन अहिले अत्यन्तै जीर्ण अवस्थामा छ। वडाध्यक्ष लामाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नयाँ भवन निर्माण र आवश्यक पूर्वाधार व्यवस्थापनका लागि अर्थ मन्त्रालय तथा भन्सार विभागसँग माग गरिएको जानकारी दिनुभयो।

नाका सञ्चालनका लागि कर्मचारी पठाउन जिल्लाका ‘जेनजी’ (Gen-Z) अभियन्ताहरूले भन्सार विभागमा पटक–पटक ताकेता गर्दै आएका थिए। युवाहरूको सक्रियता र स्थानीय जनप्रतिनिधिको पहलपछि सरकारले कर्मचारी खटाएको हो। ओलाङचुङ्गोला नाका खुलेसँगै अब तिब्बतबाट खाद्यान्न, लत्ताकपडा र निर्माण सामग्री आयात गर्न तथा यहाँबाट गलैँचा, जडीबुटी र पशुजन्य उत्पादन निर्यात गर्न सहज हुने अपेक्षा गरिएको छ।