कान्समा नेपाली चलचित्रको उपलब्धि गौरवपूर्ण, काठमाडौँलाई विश्वस्तरको ‘फिल्म सिटी’ बनाइने : कार्यवाहक प्रमुख सुनिता डङ्गोल

काठमाडौँ, ९ जेठ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फ्रान्सको कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रले प्राप्त गरेको सफलतालाई ‘विश्वकप जिते जत्तिकै ऐतिहासिक’ उपलब्धि भएको बताउनुभएको छ । कान्स महोत्सवमा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

महोत्सवमा अविनाशविक्रम शाहद्वारा निर्देशित नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ ले ‘अन सर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ प्राप्त गरेको थियो । सो क्षणको स्मरण गर्दै कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो, “नेपाली चलचित्रको वर्ल्ड प्रिमियर हुँदा हलमा ७ मिनेटसम्म दर्शकले उभिएर ताली बजाउँदा (स्ट्यान्डिङ ओभेसन) निकै गौरव महसुस भयो । यसले नेपाली कला र रचनात्मक उद्योगको उचाइ विश्वस्तरमा पुर्‍याएको छ ।”

फेस्टिभलको रेड कार्पेटमा नेवारी समुदायको परम्परागत पोशाक ‘हाकुपटासी’ मा सजिएकी डङ्गोलले आफ्नो पोशाकको चर्चाबारे स्पष्ट पार्नुभयो । “म नेवार, त्यसमा पनि ज्यापू समुदायको प्रतिनिधित्व गर्छु । हाम्रो संस्कार र संस्कृतिको पहिचान विश्वसामु पुर्‍याउन मैले हाकुपटासी लगाएकी हुँ,” उहाँले भन्नुभयो, “यो केवल एउटा समुदायको मात्र नभई विश्वभरका नेपालीले गौरव गर्ने विषय बन्यो ।”

युनेस्कोद्वारा घोषित दुई ‘फिल्म सिटी’ काठमाडौँ र कान्सबीचको सम्बन्धलाई थप सुदृढ बनाउन यो भ्रमण फलदायी भएको उहाँले उल्लेख गर्नुभयो । कान्सका मेयर डेभिड लिसनार्डसँगको भेटवार्ताबारे जानकारी दिँदै डङ्गोलले भन्नुभयो, “हामीले काठमाडौँ महानगरपालिकाले आयोजना गर्न लागेको फिल्म फेस्टिभलका लागि उहाँलाई निमन्त्रणा दिएका छौँ । मेयर डेभिडले काठमाडौँको महोत्सव सफल पार्न प्राविधिक र रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।”

भ्रमणका क्रममा डङ्गोलले चलचित्र उत्पादनमा प्रयोग हुने आधुनिक प्रविधि, प्राविधिक स्थलहरूको अवलोकन र रचनात्मक उद्योगलाई गीत, सङ्गीत, फेसन र पर्यटनसँग जोड्ने सम्भावनाबारे विभिन्न सहरका प्रमुखहरूसँग छलफल गर्नुभएको थियो ।

कार्यवाहक प्रमुख डङ्गोललाई विमानस्थलमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतलगायतका अधिकारीहरूले स्वागत गरेका थिए । काठमाडौँ र कान्स दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी नेटवर्क’ अन्तर्गत चलचित्र विधाका सदस्य सहर हुन्, जसले गर्दा आगामी दिनमा यी दुई सहरबीच चलचित्र र कला क्षेत्रमा थप व्यावसायिक सहकार्य हुने अपेक्षा गरिएको छ ।