अभ्यास खेलमा अमेरिकासँग नेपालको हार
काठमाडौँ, २ माघ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि भएको अभ्यास खेलमा अमेरिकाले नेपाललाई छ विकेटले हराएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले नौ विकेटको क्षतिमा १३६ रन बनाएको थियो । अमेरिकाले पाँच बल बाँकी छँदा चार विकेटको क्षतिमा १३८ रन बनाएर लक्ष्य हासिल गर्यो ।
नेपालका लागि प्रारम्भिक ब्याटर विन्दु रावलले २८ बलमा तीन चौकासहित सर्वाधिक २७ रन बनाइन् । अर्की प्रारम्भिक ब्याटर सम्झना खड्का पनि २० बलमा तीन चौकासहित २४ रनको पालि खेलिन् । दुवै प्रारम्भिक ब्याटर रनआउट भएका हुन् ।
अमेरिकाकी तरनुम चोपारले चार ओभरमा २३ रन दिएर सर्वाधिक तीन विकेट लिए ।
त्यसपछि प्रारम्भिक ब्याटर चेतना पागीद्यालाले ४६ बलमा छ चौकासहित अविजित ५६ रन बनाएर अमेरिकालाई जित दिलाइन् । नेपालकी सोमु विष्ट, रिया शर्मा र रुविना क्षेत्रीले एक÷एक विकेट लिनुभयो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का आयोजनामा आइतबारदेखि टि२० महिला विश्वकप ग्लोबल छनोट त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला र मुलपानी क्रिकेट मैदानमा हुँदैछ । ग्लोबल क्वालिफायरमा नेपालले पहिलो खेल जनवरी १८ तारिख थाइल्यान्डसँग खेल्ने छ ।